गृहपृष्ठ अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भएका थिए ।

त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्छन् आचार्य । दैनिकरूपमा ७० केजिसम्म मासु बिक्री गर्दै केहीलाई रोजगारी दिएको उनको भनाइ छ । हरेस नखाएर परिवारको खर्च टार्न फ्रेस हाउस सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

सुरूमा ऋणधन गरी कुखुरापालन गरे पनि यसबाट राम्रो कमाई हुने चाल पाएर यो गरेको आचार्यको भनाइ छ । कृत्रिम खुट्टाको सहायतले तीन पाङ्ग्रे स्कुटर लिएर आवश्यक कामका लागि उनी बजार निस्कन्छन् । भारतको नागाल्याण्डमा जन्मेर आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ८ सम्म पढेका आचार्यसँग दिल्लीमा १३ वर्षसम्म सुरक्षागार्डमा काम गरेको अनुभव छ । “मजदुरी गरेर घरखर्च चलाइराखेको थिए, पछि यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो”, ४५ वर्षीय आचार्यले दुखेसो पोखे । विगत १२ वर्षदेखि आफ्नै गाउँठाउँमा फ्रेस हाउस सञ्चालन गर्दै आएका उनलाई यो व्यवसायमा लाग्न सुरूआतमा स्थानीय कमल दाहाल तथा मनोज घिमिरेबाट हौसला मिलेको थियो ।

अहिले दुई छोराछोरीको पढाइ र घरपरिवारको खर्च यसैबाट चलेको छ । उनले भने, “आफूसँग लगानी नभएका कारण फ्रेस हाउस विस्तार गर्न सकेको छैन”, व्यवसाय सञ्चालनका लागि स्थानीय बाहेक अहिले सम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको आचार्यको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरूप विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र सुरूआती अवस्थामा सर्तसहितको ऋणको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए।

सुन्दरहरैँचा नगरपालिकामा दुई दर्जन फ्रेस हाउस सञ्चालनमा छन् । हिम्मतसाथ काम गरेर शङ्करले फरक र उदाहरणीय भएको सुन्दरहरैँचा नगरपालिका–७ का वडाध्यक्ष भुवनसिंह मगरले बताए । शारीरिकरूपमा अशक्त भए पनि हरेस नखाइ समाजमा अघि बढेर कामगरी खानुपर्छ भन्ने सकारात्मक उदाहरण आचार्यले प्रस्तुत गर्न सफल भएको नगरस्तरीय अपाङ्ग समन्वय समिति अध्यक्ष मीना आचार्यको भनाइ छ ।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु