global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली मन किन हुँदैछ निर्दयी ?

नेपाली मन किन हुँदैछ निर्दयी ?

असामाजिक बन्दैछन् सामाजिक सञ्जाल

नेपाली मन किन हुँदैछ निर्दयी ?

‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ । मेरो कुरा कसैले सुनेनन् । म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरुलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन ।’

जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो । त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो । यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय । तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो । एकपछि अर्काेगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो ।

सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छ ? नेपाली मन यतिविधि निर्दयी हुन सक्छ ? नेपाली समाजको यो नियतिको पछाडि आखिर के छ ? नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ? अकल्पनीय यस्ता दृश्यहरु नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन् ? प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ । तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो । जसले यी अकल्पनीय कल्पनाहरुलाई पनि वास्तविक बनाई दिँदैछन् । यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन् ।

हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला । मोबाइलको भिडियो भाइरल बन्ने लत नबसकेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो । हुन त उनीहरुका सामु अरू बग्रेल्ती विषयहरु पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दि प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरुप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदैछन् भनेर खोज्नुपर्ने दिन अब आएको छ । त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ । नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ । यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डोर्‍याउन सहज हुनेछ ।

सामाजिक सञ्जालमा आउने टीकाटिप्पणीहरु हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन् । भनिन्छ, संसार छ र त सञ्चार छ । पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु ? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको । यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ ।

अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ । अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ । अर्काे कुरा यो नागरिक पत्रकारिताको युग पनि हो । अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ । त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ त ? के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छ ? सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ । जनताका चासोका सूचनाहरु आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो ।

कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रुपमा प्रयोगमा नै ल्याइसकेका छन् । अघिल्लो दशक प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए । किनभने मध्यपूर्वी देशहरुमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो ।

अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरुलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ । भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचार विरुद्धको अभियान नै सञ्चालन गर्‍यो र यही अभियानको उपजका रुपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए । त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रुपमा गरौँ । अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन । अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ ।

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु