काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा रमाइरहेका युवालाई हेलिकोप्टर चढेर वालिङको फुटबल हेर्ने रहर जागेपछि कुटाई खाएर फर्किए

11.61K
shares

स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल चलिरहेको थियो । पुस ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो ।

वालिङकै ४ जना युवा त्यतिबेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजार रुपैयाँमा प्रभु हेलिकप्टर बुक गरे ।

विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना हेली चढेर वालिङ पुगे ।

वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न दबाव दिए । हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे ।

खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलिएका थिए । तर चार जना यात्रु झारेपछि कुनै समस्या नभइ जानेर नै हेलिकप्टर अवतरण गरेको थाहा पाएपछि खेल आयोजक आक्रोसित बने ।

‘पोखरामा रक्सी खाएर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर जाने सल्लाह गरेर आएका रहेछन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’

खेल मैदानमा मै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा उनीहरुले पाइलट डंगोल र यात्रुलाई हात पात गरे ।

‘स्थानीय, हेलिकप्टरका चालक र यात्रुबीच भनाभनका क्रममा लफडा भएको रहेछ’, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने । ‘बिना जानकारी खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई लेखेर पठाएका छौं,’ सीडीओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनुसन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु । बिना जानकारी लहडबाजीमा झार्न पाइँदैन । स्थानीयबासिन्दाको सुरक्षाको कुरा पनि हुन्छ ।’

खेलमैदानमा अवतरण गरेपछि चालक कुटाई खाएर पोखरा फर्केका छन् । वायुसेवा सञ्चालक संघले पाइलटमाथि कुटपिट भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।