global ime bank Long Banner Ad

गृहपृष्ठ ‘यौनिकता’ दर्शाउने १ हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

‘यौनिकता’ दर्शाउने १ हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

‘यौनिकता’ दर्शाउने १ हजार ४१७ वर्ष पुरानो पनौती जात्रा स्थगित

कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुँदै आएको थियो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमापूजामात्रै गरिने जनाएको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले यस वर्षको पनौती जात्रा जेठ पूर्णिमाका दिन क्षमापूजामा मात्रै सीमित हुने बताए । उनले भने, ‘क्षमापूजामा पनि सामाजिक दूरी कायम गरीदिन आग्रह गरेका छौँ ।’ नगरले आगामी वर्ष नियमित एवं भव्य रूपमा जात्रा मनाइनेसमेत सार्वजनिक अपिल गरेको छ ।

‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको थियो । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँदै आएका थिए । जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको थियो । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो । यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको  बताइन्छ । साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको स्थानीय युवा सौगात बस्नेतले बताए । उनका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । (रासस)

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु