global ime bank Long Banner Ad

गृहपृष्ठ निक्षेपको ब्याजदर चार महिनादेखि स्थिर

निक्षेपको ब्याजदर चार महिनादेखि स्थिर

निक्षेपको ब्याजदर चार महिनादेखि स्थिर

वाणिज्य बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बैंकर्स संघको बैठकले सोमबार पुसमा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो । यो निर्णयसँगै पछिल्लो चार महिनायता वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर स्थिर रहँदै आएको छ ।

पुसमा तरलताको अवस्था कस्तो हुन्छ, त्यसका आधारमा माघमा ब्याजदर बढाउने/घटाउने निर्णय हुने संघले जनाएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार हरेक तीन–तीन महिनामा आधार दरमा आएको परिवर्तनअनुसार कर्जा (नयाँ पुराना सबै)को ब्याजदर परिवर्तन गर्नुपर्छ । यसकारण पुसमा निक्षेपको ब्याजदर घटाए पनि माघदेखि ऋणीले लाभ पाउँछन् । तर, ग्राहकले तत्काल लाभ नपाउने भएकाले पुसमा ब्याजदर स्थिर राख्ने निर्णय भएको हो ।

ग्राहकले तत्काल लाभ नपाउने भएकाले ब्याजदर नघटाइएको बताइए पनि वास्तविकता केही फरक रहेको संघले जनाएको छ । पछिल्ला केही महिनायता वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार हुन थालेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा कडाइ गरेकाले तरलताको अवस्था केही सहज हुँदै गएको जानकारहरूको भनाइ छ ।

तर आउँदो पुस मसान्तसम्म पुग्दा तरलताको अवस्था अहिलेको भन्दा झन् खराब हुने अनुमान वित्तीय क्षेत्रमा हुन थालेका छन् । यही मंसिर दोस्रो सातादेखि पुस दोस्रो सातासम्म सरकारले आन्तरिक ऋणमार्फत ३० अर्ब रुपैयाँ संकलन गर्दै छ ।

दोस्रो त्रैमासको अन्त्य भएकाले पुस मसान्तमा करबापत करिब ४५ अर्ब रुपैयाँ सरकारी खातामा जाँदैछ । राष्ट्र बैंकले प्रवाह गरेको पुनर्कर्जामध्ये करिब ६० अर्ब रुपैयाँभन्दा धेरैको परिपक्व अवधि पुसमा सकिँदै छ । वाणिज्य बैंकहरूले स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था पुस मसान्तसम्मकै लागि हो ।

सरकारले पुसअघि नै उक्त निर्णय परिमार्जन गरेर अवधि नबढाएसम्म यही नीतिका कारण मात्र करिब ४० देखि ४५ अर्ब रुपैयाँ बैंकहरूको निक्षेपबाट फिर्ता हुने देखिन्छ । हालकै व्यवस्थाअनुसार हिसाब गर्दा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट करिब पौने २ खर्ब रुपैयाँ बाहिरिने जानकारहरूको अनुमान छ । उल्लिखित अनुमानका आधारमा वाणिज्य बैंकहरूले पुसमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् ।

प्रकाशित समय : ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु