गृहपृष्ठ ‘हसियाँ-हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो’
‘हसियाँ-हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताएका छन् ।
चुनाव प्रचार-प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका हुन् । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताए । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन,’ उनले भने, ‘अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।’
अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए । उनले भने, ‘चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो । निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिनेबित्तिकै नयाँ ढंगबाट पहल सुरु हुन्छ ।’ उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए ।
प्रकाशित समय : १४:११ बजे



















