global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लगानीमैत्री वातावरण बनाउने मानुषीकाे प्रतिवद्धता, अन्य उम्मेदवारका चुनावी ‘एजेण्डा’ के ?

लगानीमैत्री वातावरण बनाउने मानुषीकाे प्रतिवद्धता, अन्य उम्मेदवारका चुनावी ‘एजेण्डा’ के ?

लगानीमैत्री वातावरण बनाउने मानुषीकाे प्रतिवद्धता, अन्य उम्मेदवारका चुनावी ‘एजेण्डा’ के ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको संख्या पनि कम छैन ।

काठमाडौं क्षेत्र नं.-७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर मैदानमा छन् । नेकपा (एमाले)बाट श्यामकुमार घिमिरे उम्मेदवार छन् । यमीलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)को समर्थन छ ।

सो क्षेत्रमा २०७४ सालकाे निर्वाचनमा नेकपा (एमाले)बाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय दुई मत प्राप्त गरेका थिए । तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रबर्द्धनमा सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढेकी छन् । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उनको चुनावी प्रमुख एजेन्डा रहेको छ ।

यसपटक पूर्वसांसद मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा छन् । ०७४ सालको निर्वाचनमा निर्वाचित उनी मानन्धर आफूले सुरु गरेर पूरा गर्न नभ्याएका बाँकी विकासका योजना पूरा गर्न पुनः उम्मेदवारी दिएको बताउँछन् । उनी आफ्नो जित कायम राख्ने कसरतमा छन् । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेन्डासहित चुनावमा होमिएका छन् । त्यस्तै, सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् । तीमध्ये काठमाडौं महानगरपालिकाका चार, नार्गाजुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरु रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौं महानगरको १६, १७ र २५ सोही क्षेत्रअन्तर्गत पर्ने नागार्जुन नपा-१ र तारकेश्वर-५ मा कांग्रेसले जित हासिल गरेको छ । एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं. १८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं. ४ मा जित हासिल गरेको छ । सो निर्वाचनमा कांग्रेसका वडाध्यक्षले १४ हजार एक सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुमा मानन्धरसहित हेमबहादुर ढुंगेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रवीन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रसन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, हेम ढुंगेल, लक्ष्मण गजुरेल र ईश्वर अर्याल छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवविक्रम मल्ल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेशराज श्रेष्ठ लगायतले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौं-७ मा कुल मतदाताको संख्या ६१ हजार दुई सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ ।

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु