गृहपृष्ठ स्टार्टअप एण्ड आइडिया फेस्ट : पहिलो दिन ७ हजार बढीले गरे अवलोकन
स्टार्टअप एण्ड आइडिया फेस्ट : पहिलो दिन ७ हजार बढीले गरे अवलोकन
लिभिङ विथ आइसीटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएको छ ।
इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्टको पहिलो दिन सात हजार बढीले अवलोकन गरेका छन् ।
पहिलो दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सचिव वैकुण्ठ अर्याल, पूर्व मन्त्री गणेश साह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह(सचिव विरेन्द्र मिश्र, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त, क्यान महासंघका पूर्वअध्यक्ष विनोद ढकाललगायत सरकारी निकायका उच्च व्यक्तित्व र निजी क्षेत्रका व्यक्तिहरूले अवलोकन गरेका छन् ।
शनिबारसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आइडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।
कार्यक्रममा आइसीटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत गर्न सकिने व्यवस्था गरिएको छ । विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफूलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आईडियालाई भोट गर्न सकिने छ । फेस्टमा राम-लक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ ।

यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भइरहेका छन् । पहिलो दिन नै सात हजार बढीले अवलोकन गरेकाले दोस्रो दिन सार्वजनिक बिदा अर्थात शनिबार पनि भएकाले १० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटीसी, नाष्ट, एफएनसीसीआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

प्रकाशित समय : १७:२८ बजे



















