global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटकीय नगरीमा स्काई वाक निर्माण, पर्यटकको घुइँचो

पर्यटकीय नगरीमा स्काई वाक निर्माण, पर्यटकको घुइँचो

पर्यटकीय नगरीमा स्काई वाक निर्माण, पर्यटकको घुइँचो

पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्गनजिकै कन्याममा निर्माण भएको हो ।

कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक चार करोडको लागतमा निर्माण सम्पन्न भएको हो । यस परियोजनामा विशेष गरेर महिलाहरूले लगानी गरेको बताइएको छ । निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो ।

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो । यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ । परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ । रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ ।

नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ । सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताए । उनका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ ।

नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझ पर्यटक थप्ने अपेक्षा लिइएको छ । नगरमा पर्यटकको संख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले बताए ।

सूर्योदय नगरपालिका भारतसँग सीमा जोडिएको नगरपालिका हो । सोही कारण अहिले पनि धेरै भारतीय पर्यटक यहाँ आउने गरेका छन् । साहसिक पर्यटनसँगै साइकलका सौखिनहरु यहाँ आउने अपेक्षा लिइएको छ ।

सूर्योदय नगरपालिकाभित्र रहेका कन्याम, श्रीअन्तु लगायतका पर्यटकीय स्थानमा बढी संख्यामा पर्यटक आएकैले प्रदेश नं. १ सरकारले पर्यटकीय नगरी भनेर घोषणासमेत गरिसकेको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु