गृहपृष्ठ ‘लङ मार्च’मा मानुषी
‘लङ मार्च’मा मानुषी
१५ वर्षको उमेरदेखि सक्रिय राजनीतिको बाटो समातेकी मानुषी यमी भट्टराई काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावमा होमिएकी छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्य रहेकी मानुषीलाई माओवादी केन्द्रले समर्थन मात्रै गरेको छैन, चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा समेत प्रदान गरेको छ ।
मानुषी मतदातासँग साक्षात्कार गरिरहेकी छन्, आफुलाई चिनाइरहेकी छन्, ‘म सत्ता गठबन्धनतर्फको उम्मेद्वार हुँ ।’ तर, मानुषीले ‘सत्ता गठबन्धन’ तर्फको उम्मेद्वार भनिरहँदा राजनीतिमा उनले गरेको योगदान र उनीसंग भएको चेत कसैगरि अपरिचित हुँदैन ।
१० वर्षको बालिका थिइन् मानुषी । उनलाई १० वर्षे सशस्त्र युद्धले बालिका मानेन् । समय र परिस्थितीले जनयुद्धको योद्धा बन्न बाध्य बनायो । किनकि, उनका बाबु बाबुराम भट्टराई र आमा हिसिला यमी जनयुद्धको शीर्ष स्थानमा थिए । तत्कालीन शाही सेनाको काउन्टर लिस्टमा बाबुराम र हिसिलाको नाम पनि थियो ।
त्यो राजनीतिक परिस्थितीबाट उदय भएको हो मानुषीको यात्रा । जनयुद्धताका मानुषीले न बाबुरामको सहारा लिइन् न हिसिलाको । आफ्नै कमिटी र युद्धको काउन्सिलबाट राजनीतिक वृत्तमा हुर्केकी हुन् मानुषी । तर, पछिल्लो समय मानुषीमाथि लाग्ने एउटै आरोप हो – ‘बाबुराम भएर मात्रै यहाँसम्म पुगेकी हुन् । नत्र, को जनताको छोरा–छोरी मानुषीको स्तरमा पुग्थे र ? ।’
हो, १० वर्षको रक्तरञ्जित, विनाश र उपलब्धी बाबुराम र प्रचण्डको शिरमा छ । यसको हिसाबकिताव हुन बाँकी नै छ । यसका भागीदार पनि छन् उनीहरु । १७ हजारको मृत्युवरण त्यतिकै भएको होइन । जनताको अधिकार र नयाँ व्यवस्थाका लागि भएको हो ।
साँच्चै, आज माओवादी नेताको छोरा–छोरीको पढाइलेखाइ कुनै निरंकुश शासकका छोरा–छोरी पढ्ने स्कुलमा भइरहेको देख्दा जनयुद्धमा बुर्जुवा भन्नेहरु सत्ता र शक्ति प्राप्तपछि ‘कुलीन कमरेड’ बनेका पक्कै हुन् । छोरा–छोरीहरुलाई विदेशमा पढाएको पक्कै हो । तर, यसमा अग्रगामी विचार राख्ने ‘मानुषी’ हरु पर्दैनन् ।
११ वर्षको उमेरमा बा’आमाबाट छुटिट्एर आफ्नो पढाइलाई भारतमा रहेका नेपाली मजदुरहरुको साथ र सहयोगले अगाडि बढाइन् । साथै, युद्धले ताप दिइरहेका बेला भारतमै प्रवास संगठनमा रहेर काम गरिन् । जनयुद्धमा थुप्रै अनुवादको काम गरिन् । नेपालमा भइरहेको युद्धबारे र कम्युनिस्ट आन्दोलनको इतिहासलाई अनुवाद गरेर युद्धमा कमरेड भनिएका राता मान्छेहरुसम्म पुर्याउने काम मानुषीले गर्थिन् ।
युद्धमा मात्रै होइन शान्ति पक्रियापछि पनि माओवादी केन्द्र निकट विद्यार्थी संगठनको विभिन्न तप्कामा बसेर काम गरिन् । पछि, बाबुराम र प्रचण्डको तिक्तता मात्रै बढेन् माओवादीबाटै बाबुराम अलग्गिए । नयाँ शक्ति निर्माण गरे । जसपा हुँदै बाबुराम यतिबेला नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् । त्यसको मानुषी केन्द्रिय सदस्यसँगै बागमती प्रदेशको मुख्यसचिव छन् ।
०६५ सालतिर केन्द्रिय क्याम्पस त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सर्वाधिक मत प्राप्त गर्नेमा मानुषी पनि पर्छिन् । उनी सचिवमा निर्वाचित भइन् । त्यो कार्यकालमा पनि उनले आफ्नो अब्बलता देखाइन् । त्यतिबेला उनलाई बाबुरामकी छोरी भनेर कमैले चिन्थे । त्रिविबाट राजनितिशास्त्रमा स्नातकोत्तर गरेकी मानुषी त्यो ब्याचको गोल्ड मेडलिस्ट पनि हुन् ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्रबाटै एमफिल गरेकी मानुषी पीएचडी स्कलर हुन् । युवा पुस्तामा उनी उत्तिकै लोकप्रिय छिन् । यो, पुस्ताले रुचाएकी मानुषी आगामी मंसिर ४ को निर्वाचनपछि संसद् पस्ने कसरतमा छिन् ।
जनताका समस्यालाई संसदमा पुर्याएर समाधान गर्ने योजना बुनिरहेकी छन्,मानुषीले । उनको प्रतिस्पर्धामा थुप्रै छन्, चुनाबी मैदानमा । मुख्य प्रतिस्पर्धी भने एमालेका श्यामकुमार घिमिरे हुन् । काठमाडौं ७ मा मानुषीलाई जिताएर एमालेको विरासत भत्काउने दाउमा छ सत्ता गठबन्धन ।
यदि, मानुषीले यस क्षेत्रका मतदाताको विश्वास जित्न सफल भइन भने, संसदमा उनको भूमिका प्रभावकारी हुने आशा गरिएको छ ।
प्रकाशित समय : ११:२९ बजे


















