गृहपृष्ठ कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत वितरण
कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा हेलिकोप्टरबाट राहत वितरण

बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढी पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो ।
सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याइएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकोप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहात पुर्याएको हो ।
यस्तै, नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा चाईनिजपाल ४ वटा, कम्वल ४० वटा र डिटोल सावुन एक कार्टुन वितरण गरिएको छ । सिंजा गाउँपालिकामा त्रिपाल २५ वटा, कम्बल २५ वटा, प्लाष्टिक पाल २५ वटा पुर्याइएको छ । हिमा गाउँपालिकामा कम्बल २५, त्रिपाल २५ र डिटोल सावुन १ कार्टुन एक प्याकेट रहेको छ ।
त्यस्तै, २७ असोजमा हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, कम्वल एक सयवटा टेण्टपाल एक सय वटा, डिटोल सावुन एक कार्टुन पुर्याइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकोप्टरले राहत पुर्याएको छ । उनले भने, कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यन्न ल्याइएको छ ।
त्यस्तै, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडाहरु मध्य ४, ५, ६ र ७ को लागि हिजो २५ गते कालिकाखेत्तुमा र असोज २८ गते शुक्रबार १, २ र ३ वडाहरुको लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहतका सामग्री उपलब्ध भएको बताए ।
गत असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३ सय ८६ घर पुर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षति भएको गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले जानकारी दिए ।
त्यस्तै, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मानवीय क्षति भएको र घरको क्षेति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए ।
प्रकाशित समय : ०८:५५ बजे