पूर्वको मौसममा क्रमिक सुधार, पश्चिममा आइतबारसम्मै वर्षा
वि.सं.२०७९ असोज २१ शुक्रवार ०९:५३
shares

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने संकेत देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज दिउँसो धेरै वर्षाको सम्भावना छ । तर आज राति भने कम हुने छ । भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना छ । पश्चिम क्षेत्रमा आइतबारसम्म कहिँ न कहिँ भारी वर्षा हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । केही दिनयता लगातार वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ ।
























