गृहपृष्ठ सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण नगर्ने
सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण नगर्ने
सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताएका हुन् ।
यस्तै मन्त्रिपरिषदले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले कोहलपुर-सुर्खेत-दैलेख, १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
निर्णयहरू :
१. नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७९ साल असोज १ गते शनिबार राति १२:०० बजेदेखि अन्त्य हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२. सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने ।
३. विद्युतसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिने ।
४. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने ।
५. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत सहसचिव श्री कालीप्रसाद पराजुलीलाई तोक्ने ।
६. २०७९ कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने ।
७. संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्येष्टिमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
१०. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७/०७/२७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने ।
११. कोहलपुर-सुर्खेत दैलेख १३२ केभी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने ।
१२. राष्ट्रिय भूमि आयोग सदस्यहरूमा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका २ का श्री सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र पोखरा महानगरपालिका-९ का सोमबहादुर नेपालीलाई कास्की जिल्लाको जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने ।
प्रकाशित समय : १९:२३ बजे


















