nmb bank

गृहपृष्ठ ‘दसैंतिहारका लागि मूल्य छुटको योजनासहित खाद्य ढुवानी थालिसकेका छौं’

‘दसैंतिहारका लागि मूल्य छुटको योजनासहित खाद्य ढुवानी थालिसकेका छौं’

‘दसैंतिहारका लागि मूल्य छुटको योजनासहित खाद्य ढुवानी थालिसकेका छौं’

उहिलेदेखि अहिलेसम्म पनि दुर्गममा नपुग्ने भनेकै खाद्यान्न हो । खाद्य संस्थान, डिपो र बिक्री केन्द्रहरुमा घण्टौं लाइन बस्दा पनि चामल नपाएका नागरिकका गुनासाहरु पनि उस्तै छन् । दसैँ-तिहार जस्ता चाडहरुमा झनै खाद्यान्नको माग बढ्ने गरेको छ । दुर्गमका नागरिकको यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? यो मागलाई दिगो रुपमा कसरी सम्बोधन गर्न सकिन्छ ? खाद्य वस्तुको सहज र सुलभ आपूर्ति कसरी गर्न सकिन्छ ? यी र यस्तै प्रश्नको सेरोफेरोमा रहेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दसँग न्युज कारोबार डटकमले कुराकानी गरेको छ । चन्द गत २०७८ वैशाख २ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उनी नियुक्त भएको एक वर्ष चार महिना बित्यो । प्रस्तुत छ कुराकानीको अंंश :


नियुक्त भएको १६ महिना बित्यो । तपाईंले खाद्य व्यवस्थामा १६ महिना कसरी बिताउनुभयो ? के-के गर्नुभयो ?

म आउने बेला कोरोनाको दोस्रो लहर सुरु भइसकेको थियो । लकडाउन जारी थियो । त्यस्तो बेला पनि हामीले अत्यावश्यक खाद्य वस्तुको सेवा प्रवाह गर्नुपर्ने थियो । धेरै चुनौती थियो । त्यस्तो अवस्थामा पनि हाम्रा शाखाहरुबाट जनतालाई खाद्य वस्तुको आपूर्ति गर्न सक्यौँ । चामल मात्रै बिक्री गरेर भएन । एकै ठाउँबाट हामीले दाल, तेल, नुन लगायतका खाद्य वस्तु आपूर्ति गर्न सफल भयौँ । त्यति मात्रै नभइ ग्यास कम्पनीसँग सहकार्य गरेर ग्यास उपलब्ध गराउने काम पनि हामीले गरेका थियौँ । हामीले डीडीसीबाट घ्युदेखि जडीबुटीका स्वास्थ्य सामग्री समेत वितरण गरेका थियौँ । त्यतिबेला निषेधाज्ञा जारी थियो । ११ बजेसम्म मात्रै खोल्न पाइन्थ्यो । सबैलाई खाद्य वस्तुको पूर्ति होस् भन्ने हिसाबले बिहान ७ बजेदेखि साँझसम्म बिक्री कक्षहरु खुला राख्ने व्यवस्था मिलाइयो ।

म कोरोनाकालमै आएका हुनाले महामारीसँग जुध्नुपर्‍यो । पछि जनताको मागलाई सम्बोधन गर्दै महामारीका बेलामा २० प्रतिशत छुटको व्यवस्था गरेका थियौँ । हामीले १५ दिनभन्दा बढी नै नेपालभरिबाट २० प्रतिशत छुटले बिक्री गरेका थियौँ । ३९ जिल्लाका करिब ४४ स्थानदेखि उक्त कार्य गरिएको थियो । हामीले जहाँसम्म सम्भव भयो त्यहीँबाट बिक्री वितरण गरेका थियौँ । त्यसपछि दसैँ तिहार आयो । त्यसलाई पनि मध्यनजर गरियो । ५१ हजार ७ सय ६७ परिवारलाई हामीले खाद्यान्न वितरण गरेका थियौँ । त्यतिबेला १६ हजार १ सय ६९ क्विन्टल खाद्यान्न वितरण गरेका थियौँ । यो खाद्यान्न २० प्रतिशत छुटमा बिक्री गरिएको थियो ।

हाल कम्पनीमा के–कस्ता चुनौती छन् ?

२०७६ सालतिर नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थान गाभियो । म आउँदा यसको प्यान नम्बरसमेत थिएन । त्यसले गर्दा कारोबार भएको थिएन । पछि यो समस्याको समाधान गरियो । म आएपछि कम्पनीमा धेरै काम भएका छन् । कुनै पनि व्यवसायी र काम गर्न त्यसका मापदण्ड हुन्छन् । हामीले पनि सार्वजनिक खरिद ऐनको परिधिभित्र काम गर्न, हाम्रो व्यापार प्रवर्द्धन गर्न, व्यापारमा सहजकिरण नभएका अवस्थाहरु थिए । यसको समाधानको प्रक्रिया अगाडि बढाएँ । व्यवसायिक काम पनि गर्नुपर्ने, जनसेवाका काम पनि गर्नुपर्ने छ यो बेला ।

यस्तो बेला हामीलाई जनशक्तिको अभाव छ । हामीलाई आवश्यक पर्ने नेपालभरी ३९७ कर्मचारी दरबन्दी हो । त्यसमध्ये हामी अहिले २ सय जना छौं । त्यसमा पनि अर्को निकायमा राम्रो अवसर पाएका कर्मचारीले जागिर छोडिदिने अवस्था छ । अहिले हामीसँग २ सयभन्दा बढी जनशक्तिको अभाव भएको अवस्था छ । त्यस्तो अवस्था भएकाले कुनै पनि कार्यालयमा हामीले राम्रोसँग काम गर्न सकिरहेको छैनौँ । एक जना कर्मचारीबाट कार्य सम्पादन गराउनुपर्ने अवस्था छ । विभिन्न गाउँ बस्तीका कार्यालयहरुमा एउटै व्यक्तिबाट सम्पूर्ण काम गराउनु पर्ने अवस्था छ । त्यसले गर्दा पनि हामीले जनतालाई जति सेवा दिनुपर्ने थियो त्यो दिन सकिरहेका छैनौँ ।

दुर्गम संस्था र डिपोहरुमा सधैँ खाद्यान्न अभाव हुन्छ, पुग्दैन । संस्थाबाट पठाएको खाद्यान्न डिपो र बिक्री केन्द्रहरुमा पहुँचवालाकै हालीमुहाली हुने गरेको गुनासो सुनिन्छ । चामल नपाएर बिक्री केन्द्रहरुबाट नागरिक रित्तै फर्किने अवस्था आउँछ । यो समस्यालाई समाधान गर्न यहाँले के गर्नु भएको छ ? पर्याप्त रुपमा खाद्यान्न कहिले पुर्‍याउनु हुन्छ ?

दुर्गमका खाद्य संस्था र डिपोहरुमा हामीले चामल मनग्य पठाएका हुन्छौँ । तर, गत सालमात्रै उत्तरी सीमाबाट जाने खाद्यान्न रोकिएको थियो । त्यो कोभिडले गर्दा पनि हो । त्यसैले उत्तरी सीमाबाट खाद्यान्न ल्याउन दिएको थिएन । त्यसैले गर्दा हामीले खाद्यान्न पुर्‍याउन सकिरहेका थिएनौँ । त्यसका बाबजुद पनि हामीले जहाँबाट हुन्छ, त्यहाँबाट खाद्यान्न पुर्‍याउने प्रयास गरेका थियौँ । तर पुग्न सकिरहेको थिएन । त्योसँगै कतिपय ठाउँमा हिमपातले गर्दा पनि त्यस्तो अवस्था आएको हो । भौगोलिक विकटताले गर्दा पनि समयमा खाद्यान्न पुग्न नसकेको साँचो हो । हामीले पुर्‍याउन कोसिस भने सकेसम्म गरेका थियौँ । अर्को कुरा इन्धनको मूल्यवृद्धिले गर्दा पनि ढुवानीमा समस्या आएको थियो । त्यसमा ठेकेदारहरुले पनि ढुवानी गर्न सकिरहेका थिएनन् । मैले बोर्डमा कुरा पनि उठाएको थिएँ । तर, बोर्डले त्यो कुरा सुनिदिएन ।

जहाँसम्म तपाईंले भनेका कुरा एकै हदसम्म ठिकै हो । तर, नेपाल सरकारले हामीलाई निश्चित रुपमा बजेटको व्यवस्था गरेको छ, हामी त्यसमै टेकेर अगाडि बढ्नुपर्छ । हामी बजेटको सीमाभित्र रहेर खाद्यान्न पठाउनुपर्छ । तर, हामीले पर्याप्त खाद्यान्न पठाउने कोसिस भने गर्छौं । अर्को कुरा पहुँचवालाको कुरा गर्नुभएको छ । डिपोहरु दुई प्रकारका छन् । जहाँ हाम्रो भौतिक उपस्थिति छ, ती डिपोहरुमा त्यस्तो समस्या भएको छैन । जहाँ डिपोहरु दुरदराजमा छन्, त्यहाँ चाहिँ बिक्री केन्द्र छन् । ठेकेदारहरुले लगेर पुर्‍याइदिने हो ।

त्यहाँ पुर्‍याइदिएपछि एकमुष्ट किन्ने अथवा केही प्रावधान हुन्छ । त्यो कतै देखियो होला । तर, सबैतिर त्यस्तो भएको छैन । पहुँचवालाहरुले मात्रै पाउने भन्ने कुरा हुँदैन । त्यसमा १२ महिना नै चामल रहन्छ भन्ने हुँदैन । यद्यपि त्यहाँका सहकारी, आमा समूह लगायतसँग सहकार्य गरेर वितरण गर्ने गरेका छौं । हामीले स्थानीय सरकारसँग पनि आग्रह गरेका छौँ कि सहकार्य गरेर १२ महिना नै खाद्यान्न वितरण गर्ने वातावरण मिलाउनुपर्छ भनेर । हामीले जनताको सेवा गर्ने हो, गरिरहेका छौं ।

दिगो रुपमा खाद्यान्न आपूर्ति गर्न केही योजनाहरु बनाउनु भएको छ ?

यहाँलाई जानकारी गराएँ । दिगो रुपमा खाद्यान्न आपूर्ति गर्न सरकारले हामीलाई मनग्य आर्थिक सहयोग गर्नुपर्‍यो । बजेटको स्तर बढाउनु पर्‍यो । ढुवानी कोटा बढाउनुपर्‍यो । अहिले १ लाख ८० हजार क्विन्टल २५ वटा जिल्लाका लागि तोकिएको छ । त्यहाँ सम्बन्धित ठाउँ र जिल्लाहरुमा बजेट परिधि छ । त्यो भित्र रहेर काम गर्ने हो । यद्यपि कुनै ठाउँमा खाद्यान्न गएन । जहाँ जरुरी छ भने त्यो खाद्यान्न त्यहाँ पठाउने गर्छौं । हजुरहरुले एउटा कुरा बुझ्नुपर्‍यो कि खाद्य व्यवस्था नेपाली जनताको दुःखमा साथ दिने संस्था हो । देशमा महामारी आउँछ भोकमरी लगायतका विपद्मा यसले साथ सहयोग गर्दै आएको छ । त्यस्तो बेला खाद्य व्यवस्थाको सशक्त उपस्थिति हुन्छ । त्यो हुम्लाको नाम्खामा होस् या दार्चुलाको हिमपात होस् । हामीले हेलिकोप्टरमार्फत खाद्यान्न पठाएका छौँ । नेपालका दुर्गम क्षेत्रहरुमा हामीले खाद्यान्नको आपूर्ति गरिरहेका छौँ । यसका योजनाहरु पनि बनाएका छौं । त्यो स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजनाहरु बनाएका छौँ ।

चाडपर्वमा खाद्यान्नको माग बढ्दो हुन्छ । यसका लागि के कस्ता कार्यहरु थाल्नु भएको छ ?

हामी कानुनका परिधिभित्र रहेर यसमा लागिरहेका छौं । हामी रातदिन खटिरहेका छौँ । म लागिरहेको छु, हाम्रो साथीहरु लागिरहनु भएको छ । हामीले १९६ क्षेत्रमा ढुवानी गर्नुपर्छ । ती क्षेत्रहरुमा हामीले ढुवानीका लागि पहल थालिसकेका छौँ । त्यसलाई निरन्तरता दिने, खाद्य मूल्यमा छुट गर्ने लगायतका योजनाहरु बनाएका छौँ । यसलाई निरन्तरता दिन्छौँ ।

खाद्यको चामल सहरियाहरुले कमै प्रयोग गर्छन् भन्ने छ । त्यो दुर्गमका जनताका लागि मात्रै बनेको हो भनेर पनि भन्ने गरेका छन् । यसको कारण के होला ? खाद्यको चामलमा गुणस्तर नभएर हो ?

एउटा बजारका व्यापारीहरुले यस्तो हल्ला फैलाइदिन्छन् कि खाद्यको चामल कुहिएको हुन्छ भनेर । उनीहरुको आफ्नो खाद्य बेच्नका लागि पनि खाद्य संस्थाको चालमलाई बदनाम गर्ने उद्देश्य हुन्छ । त्यसले गर्दा हो । जहाँसम्म गुणस्तरका कुरा गर्नु भयो हामीले जस्तो गुणस्तरीय खाद्य अरु कसले बिक्री गर्छ ? व्यापारीहरुले यति क्विन्टल चामल फाले भनेको कतै सुन्नुभएको छ ? हामी कुहिएको चामललाई बिसर्जन गर्ने गरेका छौँ । बजारका अरु व्यापारीले गरेको देख्नु भएको छ ? उनीहरु कुहिएकै चामल जनतासामु पठाएर खाद्य संस्थानलाई बदनाम गर्न अघि सरिरहेका हुन्छन् । हामी उत्तिकै सहुलियतमा बिक्री गरिरहेका छौँ । त्यसलाई जनताले बुझेका छन् । केहीले बदनाम गर्न खोजिरहेका हुन्छन्, त्यसको पछि लाग्नु हुँदैन ।

हामी जनतालाई गुणस्तरको खाद्य दिन्छौँ । यसमा हामी प्रतिवद्ध छौँ । खाद्य व्यवस्थाबाट जिरा मसिना चामललाई ६८ रुपैयाँ प्रतिकिलो पाउनुहुन्छ । तर, बाहिर व्यापारी कहाँ ८० भन्दा माथि नै पर्छ । त्यसरी बेचिरहेका छन् । यो कुरा जनतालाई थाहा हुन जरुरी छ । हामी सहुलियतामा सहज रुपमा जनताको सेवा गरिरहेका छौँ । हाम्रो जस्तो गुणस्तर कसैले जाँच गर्दैन होला । प्रदेशका सबै कार्यालयमा गुणस्तर जाँच गर्ने विज्ञ नै हुनुहुन्छ । अरुले बजारमा हल्ला फैलाउने गरेका छन् । खरिद गर्दा पनि गुणस्तर हेरिन्छ, बिक्री गर्दा पनि गुणस्तर हेरिन्छ । हामीले आफ्नै किसानको धान खरिद गर्छौं । जनतालाई राहत दिन्छौँ । जनतालाई सेवाका रुपमा सहुलियतमा बिक्री गर्ने गरेका छौँ ।

म आएको २०७८ वैशाख २ गते हो । मैले २० गते र २७ गते दुई निर्णय गरेको छु । जनताहरु कोही पनि भोको नहोस् भनेर ३५ हजार क्विन्टल थप कोटा थपेर दुर्गममा चामल पठाएको छु । त्यो इतिहासले भन्ने कुरा हो ।

प्रकाशित समय : १२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु