गृहपृष्ठ पहिरोमा परेर काभ्रेमा दाजु–बहिनीको मृत्यु
पहिरोमा परेर काभ्रेमा दाजु–बहिनीको मृत्यु
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुंगा खानीमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीका अनुसार सो घटनामा परी ४४ वर्षका नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको मृत्यु भएको छ ।
नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको खानीमाथिबाट झरेको पहिरोमा परी घरसहित एकै परिवारका दुई जना पुरिएका हुन् ।
घटनापश्चात् सुरक्षाकर्मीको टोलीले गरेको खोजतलासमा दुई जनाको शव निकालेको उनले बताइन् ।
पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो ।
त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पुर्याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।
प्रकाशित समय : ०९:५९ बजे

















