गृहपृष्ठ लागु औषधसहित चार जना पक्राउ
लागु औषधसहित चार जना पक्राउ
प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
धादिङ गल्छी नगरपालिका–२ बस्ने ३१ वर्षीय चित्रबहादुर रानासहित दुई जना पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब १ किलो ५ सय ग्राम गाँजासहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग२ ख ५५२ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, कोहलपुर नगरपालिका–११ दशबिगाहस्थित दैलेखी सुर्खेती आयुष गेष्ट हाउसका सञ्चालक धनपति सुवेदीलाई १ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको होटलबाट १ सय ३० मिलिग्राम र सोही नगरपालिका–५ एनसीसीएनस्थित उनको घरबाट ४० मिलिग्राम गरी उक्त परिमाणको ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी, भिमफेदी गाउँपालिका–१ बागझोराबाट करिब १ सय ६० किलोग्राम गाँजासहित चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका–२ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेपछि बागझोराबाट कारलाई नियन्त्रणमा लिइ जाँच गर्दा उक्त लागुऔषध फेला पारी चालकलाई पक्राउ गरेको हो । साथै कारमा सवार हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ बाराहाबाट अवैध गाँजा (करिब २५ किलोग्राम) बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लिमचुङबुङबाट खटिएको प्रहरीलाई देख्नासाथ स५ प २९२६ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकलमा लोड गरी ल्याएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार मानिसको खोजी भइरहेको छ ।
पक्राउ परेका उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १३:३१ बजे


















