गृहपृष्ठ सरकारले आजदेखि कर्मचारीको नियुक्ति र सरूवा-बढुवा गर्न नपाउने
सरकारले आजदेखि कर्मचारीको नियुक्ति र सरूवा-बढुवा गर्न नपाउने
सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति र सरूवा बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।
निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कुनै पनि कर्मचारीको सरूवा, बढुवा र नियुक्ति गर्न नपाउने भएको हो ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ।
कर्मचारीहरूलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ। आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
प्रकाशित समय : ०९:३४ बजे



















