global ime bank Long Banner Ad

गृहपृष्ठ राणाको ज्याद्रो रुप : बयानमा ओलीको प्रशंसा, गठबन्धनमाथि तीखो प्रतिप्रश्न

राणाको ज्याद्रो रुप : बयानमा ओलीको प्रशंसा, गठबन्धनमाथि तीखो प्रतिप्रश्न

राणाको ज्याद्रो रुप : बयानमा ओलीको प्रशंसा, गठबन्धनमाथि तीखो प्रतिप्रश्न

सधैं अरुलाई कानुनी कठघरामा उभ्याउने चालेन्द्रशम्सेर जंगबहादुर राणा बुधबार आफैँ कानुनी कठघरामा थिए । किनकि अहिले उनी निलम्बित प्रधानन्यायाधीशको भूमिका छन् । प्रतिनिधि सभामा आफुविरुद्ध महाभियोग दर्ता भएपछि राणामा निलम्बनको ट्याग झुण्डिएको छ । अहिले उनी एक आरोपीसमेत हुन् । र, त्यसको पुष्टि गर्न प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भरमग्दुर प्रयास गरिरहेको छ ।

महाभियोग सिफारिस समितिमा बयान दिन पुगेका राणाको रवाफ भने इजलासकै कुर्सीमा बसेर फैसला गरेजस्तो थियो । उनी आफुमाथि लागेका आरोपको खण्डनभन्दा बढी आवेग ओकल्न चाहन्थे । र आक्षेप लगाएर ‘दुधले नुहाएको’ बन्ने राणाको प्रयासमा पहिलो दिन नै सांसदहरुले हार खाएका छन् । किनकि राणाका प्रतिप्रश्न यति सशक्त थिए, मानौं उनी इजलासको बेञ्चमै बसेर आरोपीमाथि प्रश्नहरुले आछुआछु पारिरहेका छन् ।

राणाले आफूमाथिको आरोप खण्डन गर्नुभन्दा पनि आफ्नो विरोध र आलोचना गर्नेहरुमाथि आक्रोश पोखेर पहिलो दिन कटाए ।

बयान लिने पूर्वनिर्धारित कार्यक्रम अनुसार समितिले ४३ ओटा प्रश्न तयारी अवस्थामा राखेको थियो । निर्धारित समयभन्दा डेढ घण्टापछि समितिले राणालाई हलमा बोलायो । साढे १२ बजे संसद सचिवालयका मर्यादापालकहरुको सुरक्षा घेराबाट हलभित्र छिरेका राणाको रवाफ हेर्न लायक थियाे ।

समितिको बैठकमा राणा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाएसँगै सांसदहरुले बयानको क्रम सुरु गरे । तर सुरुमै राणाले दह्रो जवाफ दिए- ‘महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ ।’

महाभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली समेत पालना नगरेको टिप्पणी गरेका उनले आफूमाथि मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको आरोप समेत लगाए ।

समिति सदस्यहरुको प्रश्नभन्दा खरो प्रतिप्रश्न गरेका राणाले महाअभियोग आफैँले बनाएको सरकारले ल्याएकोमा नराम्रो पनि माने । ‘मेरै नेतृत्वको इजलासले गरेको परमादेशबाट यो सरकार बनेको छ । त्यो आदेश गलत थियो भने के यो सरकार ठीक भयो त ? त्यो आदेश ठीक थियो भने महाभियोग लगाउनुपर्‍यो किन ?’ राणाको प्रश्न थियो । बरु एमालेले महाअभियोग ल्याउनसक्ने तर्क गरेका उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्बन्धी परमादेशका लागि केही न्यायाधीशहरूलाई आश्वासन दिइएको आरोप लगाए ।

२०७८ असार २८ गते भएको फैसलाकोे पृष्ठभूमिमाथि नै गम्भीर प्रश्न गरेका उनले दण्डित भए अरु न्यायाधीशलाई चाँहि किन छुट ? भन्दै जंगिने काम समेत गरे । उनले आफूमाथि मात्र महाभियोग प्रस्ताव किन ? भन्दै प्रतिप्रश्न गरे । पाँचैजना न्यायाधीशलाई महाभियाेग लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात जोडेको बयानसमेत राणाले दिएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिको कार्यालयलाई सर्वोच्चले आदेश दिएपछि मात्रै आफ्नाविरुद्ध महाभियोगको तयारी गरिएको राणाको आरोप छ । ‘मैले प्रस्ट रूपमा भनें, निवेदककर्ताहरू (देउवा, दाहाल र माधव नेपाललगायत १४६ सांसद)को तर्फबाट न्यायाधीशहरूलाई म्यानुपुलेट गरियो  । न्यायाधीशहरुलाई प्रधानन्यायाधीश बनाउँछौं भन्ने आश्वासन दिएर यो अवस्था सिर्जना गरिएको छ ।’

राणाले महाभियोगमाथिको बयानलाई सहकर्मी न्यायाधीशमाथिको आक्रोश पोख्ने माध्यम बनाए । उनले न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् भने प्रकाशमानसिंह राउतको चरित्र र नैतिकतामाथि प्रश्न उठाएका छन् । उनले डिल्लीबजारको एउटा स्थानमा बोलाएर बार्गेनिङ गर्ने गरेकोदेखि रक्सी खाएर सहयोगीले उठाएर गाडीमा चढाउने गरेको जस्ता विषय सार्वजनिक गरेका छन् । उनले राजीनामा दिएर दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खुला गरिदिए महाभियोग फिर्ता लिन गठबन्धनले प्रस्ताव गरेको समेत दाबी गरेका छन् ।

उनी यति खरो रुपमा प्रस्तुत भएकी समिति सदस्य मीन विश्वकर्माले सीमा बाहिर गएर बोल्न खोजेको आरोप नै लगाएका छन् ।

नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेलले उच्च अदालतमा न्यायाधीशको भाग मागेको र त्यो स्वार्थ पूरा नहुँदा आफूविरुद्ध आन्दोलन चर्काएको राणाको दाबी छ ।

निकै आत्मविश्वासका साथ प्रस्तुत भएका राणाको रवाफ महाभियोग लागेको निलम्बित प्रधानन्यायाधीको जस्तो थिएन । बरु राणाले आफूमाथि महाभियोग ल्याइनुको मुख्य कारणमध्ये एक ललितानिवास जग्गा प्रकरण रहेको दाबी गरेका छन् । फैसलाको मिति तोक्नै लाग्दा आफुमाथि महाभियोग ल्याइएको उनको जिकिर छ ।

सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपालसहित डा. बाबुराम भट्टराईलाई जोगाउन आफूविरुद्ध महाभियोग लगाइएको खुलस्त दाबी राणाले गरेका छन् ।

महाभियोगपछि राणा घाइते बाघ जस्तो छन् । कुनै पनि तरिकाले राणा फेरि सर्वाेच्च अदालत फर्किए पूर्वप्रधानमन्त्रीसहितका शीर्ष नेतालाई झम्टिने संकेत मिलेकाे छ । किनकि हरेक नेतासँग राणाका स्वार्थ जोडिएका छन् । कमजोरी जोडिएका छन् ।

संसदीय समितिमा राणाले प्रस्तुत गरेको हाउभाउ र तर्कले समेत दलहरुको निद्राहराम गर्ने देखिएको छ ।

यसले राणालाई सर्वाेच्च फर्किनै नदिने गरि महाभियोगअघि बढाउन गठबन्धनलाई दबाब परेको छ । तर गठबन्धनको विरोध गर्दैगर्दा राणाले एमाले अध्यक्ष ओलीको भने तारिफ गरेका छन् । ओलीलाई दुरदर्शी नेताको ट्याग लगाएका उनले संसद् विघटनकाे बचाउसमेत गरेका छन् । दबाबमा फैसला गरेकाे राणाकाे भनाइ छ ।यसले महाभियोगको मुद्धामा ओलीको साथ पाउने विश्वास राखेको देखिन्छ ।

राणासँग बयान लिनेक्रम बिहिबार पनि बाँकी छ । अझै धेरै विषयको पटाक्षेप हुने आँकलन गर्न सकिन्छ ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु