गृहपृष्ठ प्रचण्डको घुर्की एकातिर, ओलीको अनुदारवाद अर्कोतिर
प्रचण्डको घुर्की एकातिर, ओलीको अनुदारवाद अर्कोतिर
गत सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम-एकता सम्भावनाको संकेत गरे । उपत्यका विशेष वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले त्यस्तो संकेत गरेका थिए । यो, संकेत उनका लागि ०७४ सालको स्मरण थियो । अन्य स-साना दलभन्दा नेपालका ठूला वामपन्थी दलहरुबीच चुनावी तालमेल हुनुपर्ने उनको संकेत थियो ।
प्रचण्डको वाम एकताको चाहना नयाँ भने होइन । सत्ता गठबन्धनको शीर्ष दल कांग्रेसले बढी हक जमाउन खोज्ना साथ प्रचण्डले यस्ता संकेत गरिरहन्छन् । यसपटक पनि उनले गरेको यही हो । यो बेग्लै कुरा हो कि प्रचण्डका आलोचक भने यसलाई ‘प्रचण्ड घुर्की’ को संज्ञा दिन्छन् ।
प्रचण्ड कांग्रेसभित्रको शेखर कोइराला समूहमाथि बेला-बेला खनिने गरेका छन् । महामन्त्री गगन थापाले सिट बाँडफाँडका लागि बनेको कार्यदलमा एक सय सिटको दाबी गदै गर्दा प्रचण्डले त्यही झोँकमा वामपन्थी अझ त्यसमाथि एमालेसँग चुनावी तालमेलको घुर्की लगाएको बुझ्न कठिन छैन ।
प्रचण्डका यस्ता घुर्कीलाई विश्लेषकहरु स्वाभाविक मान्छन् । किनकि आगामी ४ मंसिरमा हुने चुनावमा सत्ता गठबन्धनमा सामेल दलहरु तालमेल गरेर जाँदै छन् ।
सिट बाँडफाँडको संघर्ष अन्तिम चरणमा छ । यसका लागि बनेको कार्यदलले टुंगोमा पुर्याउन नसकेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु नै यसमा जुटेका छन् । बुधबार बेलुकी ५ बजे प्रतिनिधि सभाको सिट भागबन्डाकै लागि सत्ता गठबन्धनको बैठक बस्दैछ । यसलाई टुंगोमा पुर्याउने माओवादी अध्यक्ष प्रचण्डले सोमबार नै बताइसकेका थिए ।
प्रचण्डको ‘प्लान बी’
प्रचण्डले बाँडफाँडमा सन्तोषजनक सिट नपाए ‘अर्को विकल्प’ को कुरा उठाइरहेका छन् । यस्तो बेला वाम गठबन्धनको नाममा एमालेसँग चुनावी तालमेलको घुर्की लगाउनु भनेको सहज रुपमा कांग्रेससँग सिटको बार्गेनिङ गरेको ठानिन्छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा युवा नेता रामदीप आचार्य भन्छन्, ‘अध्यक्ष प्रचण्डले वाम-एकता भनेको वामहरुको एकता भनेको होला । वाममध्ये पनि धेरै थरी वामहरु छन् । त्यसमध्ये पनि एमालेसँग तत्कालीन एकता हुने अवस्था छैन । यो हुनुका पछाडि दुबैतिरबाट वातावरण बन्नुपर्ने हो । तर, राजनीति सम्भावनाको खेल हो । जहिले पनि जीवितै रहन्छ । अहिलेका लागि त्यस्तो गृहकार्य भएको छैन ।’
गठबन्धनभित्र असहज स्थिती देखिए माओवादीले पनि विकल्पको बाटो रोज्ने आचार्यको भनाइ छ- ‘कांग्रेसलाई एक्लै बहुमत दिलाउनकै लागिमात्र गठबन्धनबाट माओवादी चुनावमा भाग लिन्छ होला र ? १ सय ६५ सिटमा कांग्रेसले सय सिट माग्यो भने, सय सिट कांग्रेसलाई दिएर तपाईं बहुमत लिएर जानुहोस् भन्न गाह्रो हुन्छ ।’
कांग्रेसले सिट बाँडफाँडमा आफ्नो अडान कायम राखे गठबन्धन रहन्छ नै भन्न नसकिने नेता आचार्यको भनाइ छ । आचार्यको मात्रै होइन माओवादीका अन्य नेताहरुको बुझाइ पनि उस्तै छ । उनीहरु विकल्पमा वाम-एकता गर्ने कुरामा सकारात्मक छन् ।
पछिल्लो समय ‘राजनीति सम्भावनाको खेल हो’ भनेर माओवादीका धेरै नेताहरुले बताउने गरेका छन् । यसको आशय सिट बाँडफाँड सन्तोषजनक नभए गठबन्धनबाट बाहिरिएर वामपन्थी दलहरुसँगै चुनावी तालमेल गर्ने योजनामा छ माओवादी । त्यसमध्ये पनि एमालेसँग बढी ।
बाँकी रहेका वामपन्थी दलहरु त माओवादीसँग सकारात्मक मात्रै छैनन पार्टी एकताका कुरा समेत उठाइरहेका छन् । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादीबीच चुनावपछि पार्टी एकता नै हुने भनिएको छ । यस्तै, नेकपा एकता राष्ट्रिय अभियानको नेतृत्व वामदेव गौतमले गरिरहेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि वामपन्थीबीच चुनावी तालमेलको पक्षमा देखिएका छन् ।
केही महिनाअघि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले एमाले अध्यक्ष ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल हुने बताएका थिए । उनले भनेकै छन्- ‘विगतमा भएका गल्तीहरु स्वीकार गरे एमालेसँग विस्तारै मोर्चा हुनसक्छ । एकता नै भन्ने होइन,चुनावी तालमेल हुनसक्छ । तर, आजै एकता हुन्छ । भोलि नै एकता हुन्छ भन्ने छैन र होइन । गल्ती स्वीकार गरे वामपन्थीहरुको सहकार्य हुनसक्छ । सहकार्यको ढोका खुल्न सक्छ ।’
माओवादी केन्द्रबाट वर्षमान पुन लगायतका नेताहरु वाम-एकताको पक्षमै छन् ।
विचार नमिल्ने तर व्यवहार मिल्ने कांग्रेससँग गठबन्धन हुँदा उनीहरु असन्तुष्ट नै देखिन्छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको हालको सत्ता गठबन्धनलाई क्षणिक मान्छन । भन्छन्, ‘गठबन्धन लामो समय जान्छ भन्ने होइन । न विचार मिल्छ । न सिद्धान्त मिल्छ । केही मिल्दैन । त्यसैले गठबन्धन केही समयका लागि मात्रै हो । यो लामो समयसम्म रहीरहन्छ भन्न सकिँदैन ।’
माओवादीतर्फ मात्रै होइन यता एमालेबाट पनि विष्णु रिमाल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरु वामपन्थीहरु चुनावी तालमेल गर्ने पक्षमा देखिएका छन् ।
एमालेबाट विभाजित भएर एकीकृत समाजवादीमा लागेका केही नेताहरु पनि एमालेमै फर्किने तयारीमा छन् । गत साता काठमाडौंमा भएको एकीकृत समाजवादीको स्थापना दिवसमा चार पूर्वमन्त्रीहरु नै अनुपस्थित थिए । यसलाई धेरैले एमालेमा फर्किने संकेतका रुपमा पनि बुझे । उनीहरु पनि ठुलो वामपन्थी दल एमालेसँग चुनावी तालमेल गर्नुपर्ने पक्षमै छन् ।
तर, एमालेभित्रै केही नेताहरु भने तालमेलको सम्भावना टुटेको बताउँछन् । वामपन्थी दल र चुनावी तालमेलका विषयमा एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिंह घुमाउरो पारामा माओवादी र एकीकृत समाजवादीसँग तत्काल सहकार्यको सम्भावना देख्दैनन् । उनले न्युजकारोबारलाई सुनाए- ‘हाम्रो भनाइ पनि वामपन्थी शक्तिहरु एक हुनुपर्छ भन्ने नै हो । तर, आफूलाई वामपन्थी र क्रान्त्रिकारी भन्नेहरुले नै नेकपाको सरकार ढालेको इतिहास छ । जो वामपन्थी नै थिएनन् र छैनन, उनीहरुसँग वाम-एकता सम्भव छैन । त्यसै पनि माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने कुरा परकै हो । चुनावी तालमेल हुँदैन । एमालेका आफ्ना योजनाहरु छन् । एमालेका आफ्ना अजेण्डाहरु छन् । त्यही लिएर एमाले चुनावमा जान्छ ।’
७/८ भदौको एमाले पोलिटब्युरो बैठकमा नै वाम विशेष गरेर माओवादी, एकीकृत समाजवादी र अन्य वामपन्थी राजनीति दलहरुबीच एकता हुनुपर्ने कुरा मात्रै उठेन, एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रस्ताव समेत ल्याए । भुसालको प्रस्तावमा वामपन्थी शक्तिहरु एक हुनुपर्ने जोड छ ।
भुसालको प्रस्तावमा बैठकमा उपस्थित केही नेताहरुले समर्थन गरे । राष्ट्रिय राजनीतिमा ‘वाम वर्चस्वको पुन:स्थापना’को प्रस्तावमा गएको स्थानीय तहको मतपरिणामदेखि आगामी राजनीतिबारे चासो देखाइएको थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई सम्बोधन गरिएको उक्त प्रस्तावमाथि एमालेभित्र ‘दश भाइ’ बाहेक अन्यले मुन्टो हल्लाउन सकेनन् । यसले एमालेका केही नेताहरु वामपन्थीबीच चुनावी तालमेल, यसमाथि पनि माओवादी र समाजवादीबीच तालमेल गर्ने कुराको सकारात्मक बिन्दुमा छन् ।
तर, ओली भने माओवादी र एकीकृत समाजवादीबीच तालमेलको पक्षमा देखिदैनन् । किनकि भुसालको आग्रहलाई लत्याउदै आफ्नो राजनीतिक प्रतिवेदनमा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपाललाई ‘कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दक्षिणपन्थी शक्तिहरूको औजार’ भएको संज्ञा दिइसकेका छन् ।
प्रचण्ड-माधवहरुसँग तालमेलको सम्भावना समाप्त भइसकेको बताउँदै एमाले एक्लै चुनाव लड्ने ओलीको अडान कायमै छ ।
०७४ को निर्वाचनमा तालमेल मात्रै भएन, एमाले र माओवादीबीच एकता समेत भयो । ०७४ लाई सम्झिँदै एमालेका एक नेताले भने नेताले भने, ‘हाम्रो मत वामपपन्थीहरु भिन्न हुनुहुन्न भन्ने नै हो । जस्तो गत संघ/प्रदेशको निर्वाचनमा वाम एकता हुँदा देशमा बहुमत नै आयो । तर, अध्यक्ष कमरेड एकताको पक्षमा हुनुहुन्न । हामी प्रयासमा भने छौँ ।’ ती नेताको आशय माओवादी र समाजवादीसँग चुनावी तालमेल हुने सम्भावनाको ढोका बन्द भइसकेको छैन । उनले यस विषयमा केही नेताहरुबीच छलफल भइरहेको समेत बताए ।
स्थानीय तहको निर्वाचनबाट पाठ सिकेका केपी ओली ठुला वामपन्थी दल माओवादी र एकीकृत समाजवादीभन्दा राजावादी दलहरुसँग तालमेल गर्न तम्तयार छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ओलीबीच भेटघाटभित्रको अर्थ पनि यही हो ।
पछिल्लो समय ‘विचारभन्दा माथि देश’ भन्ने नारा बोकेर राजतन्त्रको पक्षमा उत्रिएका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले दुई दिनअघि मात्र एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । राजतन्त्रका पक्षधरहरुसँग ओलीको भेटघाट बढ्दै जाँदा वामपन्थीहरुसँग उनकाे छलफल कम हुने गरेको घटनाक्रमले देखाइरहेको छ ।
एमालेकै केही स्थायी कमिटी सदस्य र नेताहरु वामपन्थीसँगै चुनावी तालमेल गर्नुपर्ने जोड गरिरहेका बेला अध्यक्ष ओलीले त्यसलाई गम्भीर रुपमा लिएका छैनन् । यसका कारण पनि ठुला वामपन्थी दलहरुबीच तालमेल हुने असफल विन्दु नै ओली देखिएका छन् ।
चुनावको अन्तिम अवस्थामा वामपन्थी दलहरुलाई तालमेलको लोभ देखाएर सत्ता गठबन्धन भत्काउने, माओवादी र एकीकृत समाजवादीलाई भुइँमा ल्याउने ओलीको रणनीति कतिसम्म सफल हुन्छ ? यसको परिणाम मंसिर ४ भन्दा अघि नै देखिनेछ ।
प्रकाशित समय : १२:११ बजे




















