गृहपृष्ठ तीजको दिन करिब सात लाखले गरे पशुपतिको दर्शन
तीजको दिन करिब सात लाखले गरे पशुपतिको दर्शन
नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् ।
बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शंकर पराजुलीले जानकारी दिए ।
बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी महिलाले हरितालिका (तीज) पर्व मनाएका हुन् ।
पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पशुपतिनाथ मन्दिरमा यस वर्ष विगतभन्दा सहज रुपमा दर्शन गर्न पाइएको भक्तजनले बताएका छन् । १५ वर्षपछि पशुपतिनाथको पूर्वी ढोका खोलेपछि भक्तजनलाई दर्शनमा सहज भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र नागेश्वर मन्दिर, भक्तपुकरको डोलेश्वर, ललितपुरको सन्तानेश्वरलगायत काठमाडौँ उपत्यका र देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।
प्रकाशित समय : ०६:५७ बजे



















