गृहपृष्ठ इमेज अवार्डको मनोनयन सार्वजनिक
इमेज अवार्डको मनोनयन सार्वजनिक
नेपाली सांगितिक क्षेत्रको सर्वाधिक ठूलो टुबाेर्ग इमेज अवार्डको २२औं संस्करणको यस वर्षको विविध विधाका पाँच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट पाँच विधाका मनोनयन सार्वजनिक गरिएको हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण पछिल्ला दुइ वर्ष यो अवार्ड आयोजना हुन सकेको थिएन । त्यसकारण सो अवधिसमेत पर्नेगरी यस वर्ष २०७६ असार १ देखि २०७९ जेठ मसान्तभित्र सार्वजनिक भएको नेपाली गीत, संगीत, रचना र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको इमेज च्यानलका अध्यक्ष तथा प्रवन्ध निर्देशक आरके मानन्धरले जानकारी दिए ।
यस वर्ष गीत, संगीत, रचनालगायत म्युजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूहगरी जम्मा १५ विधा रहेका छन् । प्रत्येक विधाको उत्कृष्ट ५ मनोनयनका लागि नेपाली सांगीतिक क्षेत्रका विज्ञबाट प्राविधिक भोट लिइएको थियो । पब्लिक च्वाइस अवार्डको एक विधाका लागि इमेज खबर डटकममार्फत शनिबारबाटै अनलाइन भोटिङ खुल्ला गरिएको छ । अनलनइन भोटिङ २०७९ भदौ ११ गतेदेखि अवार्ड वितरण हुने अघिल्लो दिन अर्थात २०७९ असोज २ गतेसम्म खुला रहनेछ । यस विधामा सर्वाधिक भोट प्राप्त गर्ने स्रष्टालाई विजेता घोषणा गरी अवार्ड प्रदान गरिने छ । सबै विधाको अवार्ड वितरणको आयोजना भने असोज ३ गते हुनेछ ।
इमेज अवार्डको विशेष आकर्षणको रुपमा रहेको इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट यस वर्ष नेपाली सांगितिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हास्यव्यंग्य जगतका ख्यातिप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरिने अध्यक्ष मानन्धरले बताए ।
शनिबारको पत्रकार सम्मेलनमा उत्कृष्ट मनोनयमा परेका गीत संगीत र त्यसमा संलग्न विभिन्न व्यक्तित्वलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
प्रकाशित समय : १३:३५ बजे


















