global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेकपा एकीकृत समाजवादीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेकपा एकीकृत समाजवादीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेकपा एकीकृत समाजवादीद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने र प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाउने कार्यतालिका रहेको छ । केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समयतालिका तय गरेको बताए । उनले भने, ‘संविधानको रक्षा, संसद् पुनःस्थापना, मुलुकमा राजनीतिक स्थिरताका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

देशभरका लोकतान्त्रिक समाजवादी शक्ति एक ठाउँ भएर मुलुकको स्थिरता र स्थायित्वका लागि संसद् पूर्णकाल सञ्चालन गरी आगामी मंसिर ४ गते निर्वाचन गर्न लागिएको उनले जानकारी दिँदै निर्वाचनमा साझा उम्मेदवार उठाइने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए । पार्टी स्थापनाको एक वर्षका अवधिमा दुई लाखभन्दा बढी व्यक्ति पूर्णकालीन सदस्य तथा पाँच लाख साधारण सदस्य भएको उनले बताए ।

पाँच हजार वडा विस्तार गरेको पार्टीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिएको थियो । निर्वाचनमा नौ लाखभन्दा बढी मत प्राप्त भएको पार्टीले जनाएको छ । नेकपा (एमाले)को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै नेता तथा कार्यकर्ताको विद्रोहबाट पार्टीको जन्म भएको थियो ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु