गृहपृष्ठ ‘अपराध अनुसन्धानमा प्रदेश, संघीय र स्थानीय तहको भूमिका उत्तिकै महत्वपूर्ण’
‘अपराध अनुसन्धानमा प्रदेश, संघीय र स्थानीय तहको भूमिका उत्तिकै महत्वपूर्ण’
गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवं न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी विधिवत रूपमा समीक्षा गोष्ठीको उद्घाटन गर्दै बदलिँदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गरे ।
जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पूरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नुका साथै स्रोत साधन एवं क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको उल्लेख गरे ।
प्रकाशित समय : १४:०४ बजे



















