गृहपृष्ठ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने
राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने
जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ’ भन्ने आदर्श वाक्यसहित उक्त दिवस मनाइँने भएको छ ।
भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस पर्ने र त्यस अवसरमा भदौ ९ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार पहिलो दिन पुस्तकालय परिसरसहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिनेछ ।
भदौ १० गते पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण, ११ गते अन्य साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, १२ गते माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, १३ गते पुस्तकालय परिसरमा सरसफाइसँगै कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक उपहार दिने कार्यक्रम तय गरिएको उनले बताए । १४ गते पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी र १५ गते मूलसमारोह आयोजना गरिने भएको छ । गत वर्ष कोभिड-१९ का कारण दिवस आयोजनामा असर परे पनि यो वर्ष साताव्यापीरुपमा मनाउन लागिएको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताए ।
प्रकाशित समय : १२:३९ बजे



















