गृहपृष्ठ ती थिए, प्रदीप दाइ
ती थिए, प्रदीप दाइ
जुन खबर कसैले सुन्न चाहँदैन थिए ! हिजो राति आखिर त्यही खबर सुन्न सबै बाध्य भए । खबर थियो– नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन ।
मुम्बईबाट घाँटीको क्यान्सरको उपचारपछि केही महिनाअघि मात्रै नेपाल फर्किएका गिरिलाई निमोनिया देखिएपछि थप उपचारका लागि गत साउन ९ मा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा जटिलता देखिएको शुक्रबार नै चिकित्सक टोलीले जानकारी गराइसकेको थियो । शनिबार बिहान मात्रै स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अपस्ताल पुगेकी थिइन् । राष्ट्रपतिसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि गिरिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । सबैको पुकार थियो, ‘गिरिको स्वास्थ्य अवस्था ठिक होस् । छिट्टै घर फर्किऊन् ’ तर, त्यो पुकारलाई रोगले च्यापेको शरीरले सुनेन ।
शनिबार बेलुकी ९ः ३३ बजे ७५ बर्षको उमेरमा गिरिको देहान्त भयो । उक्त खबरले नेपालीजन स्तब्ध छ ।
गिरि सरलता र बौद्धिकताको राजनीतिका सिंगै सगरमाथा, समाजवादी चिन्तक तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व रहेको कांग्रेस नेता नैनसिंह महरको बुझाइ छ । ‘म नेविसंघको अध्यक्ष भएको बेला बीपी संग्रहालय,सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा तिमीहरु देशैभरि वैचारिक कार्यक्रमको आयोजना गर, म प्रवचन दिन्छु भनेर तपाईंले गरेको बाचा बिरामीबाट मुक्ति पाएपछि पूरा हुने आशैआशमा अधुरो रह्यो प्रदिप दाइ,’ नेता महरले भावुकता व्यक्त गरेका छन् ।
गिरिले नेपाली राजनीतिको विचार बाटोमा पुर्याएको योगदान भने सदा–सदा जीवन्त नै रही रहने छ । सिरहाको लहान नगरपालिका-१४, बस्तीपुरमा २००४ सालमा जन्मिएका गिरि नेपाली राजनीतिका बौद्धिक नेता मात्रै थिएनन, समाजवादी चिन्तक र विचारक पनि थिए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले ०१७ सालदेखि सक्रिय राजनीति सुरु गरेका थिए ।
२०२४ सालमा नेपाल छात्र संघ बनारसको निर्वाचित उपाध्यक्ष भएका गिरिले प्रजातान्त्रिक आस्था राखेकै कारण ०२५ सालमा १८ महिना जेल जीवन बिताए । ०४२ सालमा फेरि एक वर्ष जेल परे । प्रजातन्त्र र समाजवादका लागि उनले गरेको योगदान नेपाली समाजमा पुस्तौँ पुस्तासम्म रहनेछ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअघि उनी केन्द्रीय सदस्य थिए । स्वास्थ्य अवस्थाका कारण नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी भएनन् । ०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेदवारलाई पराजित पारेका गिरिले त्यसअघिको निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए ।
०५१ सालको संसदीय निर्वाचनमा पनि सिरहा क्षेत्र नं. ५ बाटै निर्वाचित भएका थिए । २०५६ को संसदीय निर्वाचनमा पनि सिरहाबाटै भाग लिएका थिए । ०७० को चुनावको बेला इच्छाएको उम्मेदवारलाई मात्रै भोट गर्ने कसैको धम्की र आर्थिक लोभमा भोट नगर्न ‘नो भोट’ अभियान नै चलाएका थिए ।
अध्ययनमा उत्तिकै रुचि राख्ने र विश्व राजनीतिलाई नजिकबाट बुझेका, जानेका गिरिसँग मात्रै थियो त्यो ल्याकत । जसले कम्युनिष्टलाई मार्क्सवाद पढाउन सक्थे । दर्शन र विचारलाई केलाउन सक्थे । जसकारण, कम्युनिष्ट विचारकहरुको पनि प्रिय थिए उनी । कम्युनिष्टका लागि गिरि प्रिय कमरेड थिए, लोकतन्त्रवादीका लागि प्रिय दाइ ।
गिरिले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत शुक्रबार अन्तिमः पटक ‘जय नेपाल’ लेखे र अर्कोदिन पृथ्वीबाट बिदा लिए ।
प्रकाशित समय : ०७:१७ बजे



















