गृहपृष्ठ प्रचण्डले आज ‘हुकुम बक्सियो’
प्रचण्डले आज ‘हुकुम बक्सियो’
धेरै वर्षको अन्तरालपछि आज नेकपा (माओवादी केन्द्र)मा अचम्म भयो । यस पार्टीका हाइकमाण्ड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कोटको गोजीबाट फुत्त केही नेताहरूको नाम निकाले । जसलाई अब माओवादी केन्द्रका पदाधिकारी भनिनेछ ।
निकै रस्साकस्सी र समय घर्किएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘राजशाही शैली’ मा आफ्नो बाहुलीबाट पदाधिकारीको नाम दिए । के अब माओवादीको कार्यशैलीमा फेरबदल आउँछ ? त्यसो भए के अब माओवादीले विगतमा गरेको गल्तीको पुनरावृत्ति हुँदैन ? अनि के माओवादीको राजश्री ठाँटबाँड पदाधिकारी नियुक्तिसँगै अन्त्य हुन्छ ? प्रश्नको पुलिन्दा धेरै छन् । अब अगाडिको माओवादीको कार्यशैली कस्तो होला ? भन्ने अनुमान गर्दै हुनुहुन्छ भने एकपट पछाडि फर्कौँ ।
०५२ पछि ०६३ अघि जाजरकोटको जुनीमा एउटा कम्युन बन्यो । साविक दह गाविसको वडा नम्बर १ नीपाने र वडा नम्बर २ जुर्कका दुई वडाका २४ घर परिवार एउटै कम्युनमा बसे । उक्त कम्युनको नाम राखियो–‘जुनी’ । अर्थात् जुर्क र नीपाने । जुर्क र नीपानेको अघिल्लो अक्षरलाई जोडेर उक्त कम्युनको नाम जुनी राखिएको थियो ।
यतिबेला, जुनीका समस्या साझा थिए । सपना एकै थिए । समाधान साझा थिए । उपाय साझा थिए । विकल्प साझा थिए । रहन साझा थिए । सहन साझा थिए । विचार एउटै थियो । उद्देश्य एउटै थियो । लक्ष्य एउटै थियो । भावना एउटै थियो । न गरिब थिए त न धनी । जसको सुरुआत, ‘पेरिसको कम्युन’ शैलीमा नेकपा माओवादीले सशस्त्र युद्धका बेला गरेको हो ।
तर, अहिले त्यो एकादेशको कथा हो । समाज भिन्न छ । विचार भिन्न छन् । लक्ष्य भिन्न छन् । गरिब, गरिब नै भए । धनी, धनी नै भए । जुनीमा मालिक र मजदुरको संघर्ष अहिले पनि जारी छ । हाल जुनीचाँदे गाउँपालिका-७ मा पर्ने जुनीको रुपरेखा फरक छ । वडाध्यक्ष नयनसिहं घर्तीका अनुसार, कम्युनमा सँगै बसेका एक सय घर परिवार अहिले एक सय ८५ घर छन् । तत्कालीन राज्य पक्षको आक्रमणबाट २३ जना माओवादीले जुनीमा ज्यान गुमाएका थिए । जुनीको ‘रगतको राजनीति’ बाट उदाएका ‘राता मान्छे’ हरु अहिले पदमा छन् । शक्तिमा छन् ।
ती र त्यस्तै कम्युन रोल्पा, रुकुम, जाजरकोट र कालिकोटबाट सुरू गर्दा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उद्घाटन गर्थे । अनि, कम्युनका अघि सशस्त्र युद्ध चर्किएकै बेला प्रचण्ड चर्को स्वरमा भन्ने गर्थे– ‘हामीले चाहेको राज्य नितान्त नौलो राज्य हो । त्यस्तो राज्य, जहाँ सयौँ वर्षदेखि दमित भावनाहरु, दमित जनताहरु, आफू यो देशको मालिक भएको महसुस हुँदैन । जबसम्म अहिलेसम्म मालिक भएकाहरू पछारिँदैनन् । तपाईं हाम्रो अधिनभित्र आउँदैन । जबसम्म दरबारको अरबौँ सम्पत्ति हामी गरिब जनताको देशभरिबाट लुटिएको, सयौँ वर्षदेखि लुटिएको, अरबौँ सम्पत्ति थुपारिएको छ । त्यो जनताको सम्पत्ति बनाइँदैन, जबसम्म ठूल्ठुलो महलहरु जनताका निम्ति कब्जा गरेर खुला गरिँदैन, राष्ट्रियकरण गरिँदैन, तबसम्म नेपाली जनता अधिकार सम्पन्न भएको मान्न सकिँदैन ।’

प्रचण्डको त्यो राप र तापलाई सुन्न सारा मजदुरहरू जम्मा हुन्थे । प्रचण्ड भन्ने गर्थे–‘जबसम्म क्रान्तिकारी भूमि सुधारद्वारा हजारौं बिघा जमिन, सबैभन्दा राम्रो जमिन, राजा, महाराजा र उनका भाइ/भतिजाहरूले कब्जा गरेका थिए । त्यो जग्गा जमिन कब्जा गरेर जनताका बीचमा वितरण गरिँदैन, तबसम्म जनता मुक्त भएको, अधिकार सम्पन्न भएको मानिँदैन ।’
जबसम्म दलाल, नोकरशाही पुँजीपतिद्वारा हजारौं सयौँ मजदुर राखेर नयाँ उद्योग धन्दा कारखानाबाट लुट्ने धन्दा भएको छ । तिनलाई कब्जा गरिँदैन । तिनको राष्ट्रियकरण गरेर जनताको सम्पत्ति बनाइँदैन । त्यतिबेलासम्म जनताको अधिकार सम्पन्न भएको नमान्ने प्रचण्ड नयाँ खाल्को राज्य प्रणाली स्थापनासँगै चीनमा लागु भएको नयाँ जनवादी व्यवस्था नेपालमा लागु गर्न बताउँथे । दरबारिया शासनलाई फालेर नेपाली जनता माझ गणतन्त्रसँगै जनतासामु अधिकार ल्याउन र दिलाउने कसम खान्थे–प्रचण्ड । उल्लेखित सशस्त्र विद्रोह गर्दा दुरदराजका गाउँमा गएर प्रचण्डकै निर्देशनमा माओवादी शीर्ष नेताहरू भाषण गर्थे । बाबुरामदेखि विप्लवसम्म हुन्थे, यो पंक्तिमा ।
माओवादीले आमजनतालाई सपना बाँडेको २७ वर्ष बित्यो । दश वर्षसम्म बोकेको बन्दुक बिसाएर माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १६ वर्ष बित्यो । अर्थात् तत्कालीन राज्य व्यवस्थालाई जरादेखि उखेलेरै फाल्नुपर्छ भनेर माओवादीले ०५२ फागुन १ देखि सुरू गरेको सशस्त्र विद्रोह झण्डै दश वर्षसम्म चल्यो । नेतृत्व उनै प्रचण्डले गरे ।

उक्त सशस्त्र विद्रोहको उद्देश्य थियो– ‘समाजमा नयाँ जनवादी व्यवस्था लागु गर्ने, भुइँ मान्छेलाई सत्ता र शक्तिमा पुर्याउने, देशमा आमुल परिवर्तन गर्ने ।’ त्यसैका लागि, ०५२ देखि ०६२/६३ बीचको सयममा रोल्पा, रुकुम र जाजरकोट कालिकोट मात्रै रक्तरञ्जित थिएनन् सिंगो पूर्वदेखि पश्चिमसम्म त्यसको दबाब, प्रभाव र रवाफ उत्तिकै थियो ।
तत्कालीन राज्य पक्ष र विद्रोही माओवादी पक्षबाट कैयौँले ज्यान गुमाए । कयौं घाइते भए । कैयौँ बेपत्ता भए । यसको एकिन रुपमा हिसाब–किताब भने छैन । तर, ०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछिको तथ्याङ्कले भने १७ हजारले मृत्युवरण गरेको उल्लेख गर्यो । त्यसैको जगमा आयो–गणतन्त्र ।
लालुले यसैत्यसै चढाएका थिएनन परिवर्तनका नाममा तातो रगत । तर, अहिले उनकै परिवारलाई हातमुख जोड्न पनि धौ–धौ छ । अहिले उन लालुकी श्रीमती देवी भन्छिन् – ‘राजा फाल्छु, हाम्रो सरकार ल्याउँछु भनेर हिँडेका थिए । आफु पनि मरे, अहिले धेरै राजाहरु जन्मिए । हाम्रा दुःखका दिन उस्तै छन् । न गास छ न बास ।’
माओवादी नेता अर्थात् हिजो सोझाहरुलाई हतियार बोक्ने सिकाउनेहरु सत्ता र शक्तिमा गए । तर, सशस्त्रकालका बेपत्ता, घाइते र सहिद परिवारका समस्या ज्युँका त्युँ रहे । युद्धमा जुन सपना बाँडेर बन्दुक बोकाइएको थियो त्यो भने अधुरै रह्यो । व्यवस्था बद्लिएर अवस्था पुरानै दिशातिर फर्कियो ।
कालिकोट खाडाचक्र नगरपालिका – ८ धाला निवासी देवी परियारलाई याद छ – ०५९ मंसिर १७ गते मंगलवारको दिन । देवी उनै हुन्, जसका श्रीमान् लालुलाई सशस्त्र द्वन्द्वका बेला तत्कालीन ‘शाही सेना’ले अपहरण गरेर माओवादी भएकै कारण मृत्युदण्ड दिएको थियो । घरबाट ‘हत्यारा अपराधी माओवादी’ भन्दै सेनाको अपहरणमा परेका लालुको छातीमा सेनाको बुट बजारिएको देवीको मस्तिष्कमा ताजै छ । यो लालुलाई सेनाले अपहरण गरेको बेला हो । पछि सेनाले लालुलाई मारेर कालिकोट मान्मस्थित राताडाँवा फालिएको देवी सम्झिन्छिन् – ‘आर्मीले लिएको एक महिनापछि राताडावामा लास भेटियो ।’ १५ मसिंर ०७८ मा यस संवाददातासँगको कुराकानीमा देवीले ‘सेनाले श्रीमानलाई मारिदियो, माओवादीले आफूहरूलाई वास्ता नगरेको’ गुनासो गरेकी थिइन् । तत्कालीन गाउँको टाठोबाठो र समाजमा परिवर्तन चाहने लालुले २१ वर्षकै उमेरमा श्रीमतीलाई एकल महिला बनाए । त्यो, व्यवस्था र अवस्था परिवर्तनका लागि थियो ।
लालुले यसैत्यसै चढाएका थिएनन परिवर्तनका नाममा तातो रगत । तर, अहिले उनकै परिवारलाई हातमुख जोड्न पनि धौ–धौ छ । अहिले उन लालुकी श्रीमती देवी भन्छिन् – ‘राजा फाल्छु, हाम्रो सरकार ल्याउँछु भनेर हिँडेका थिए । आफू पनि मरे, अहिले धेरै राजाहरू जन्मिए । हाम्रा दुःखका दिन उस्तै छन् । न गास छ न बास ।’ बाध्यता र परिस्थितीले श्रीमानले अंगालेको पुरानै पेशा सम्हालेर घर खर्च चलिरहेकी छन् देवीले । हिजो आफ्नो छाक बिर्सेर राता मान्छेको छाक टारेकी देवी कहाँ आज घरको जोहो धान्न मुस्किल हुने गरेको छ ।
विद्रोहको बाटोबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादी सत्ता र शक्तिमा नगएको भने होइन । पटक–पटक गयो । र, अहिले पनि छ । ०६४ को पहिलो संविधान सभाको चुनावमा २ सय २९ सिटसहित संसद प्रवेश गरेको माओवादी देशकै ठूलो दल बन्यो । तर, माओवादीले प्राप्त गरेको त्यो साख भने जोगाउन सकेन । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा ८३ सिट ल्याएर तेस्रो दलमा खुम्चियो ।
यसो किन भयो ? यसका केही कारण छन् । विचारधारामा फुट र जनताले गरेको विश्वासलाई माओवादीले सदुपयोग नगरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य स्वीकार्छन । उनले संक्षेपमा तर चोटीलो बोली बोले– ‘सहर बदल्न आएको माओवादी यतैको रमझममा हराएकै हो । हामीसँग यो देश बदल्ने सपना थियो । संकल्प थियो । र, एजेन्डा पनि थियो । त्यसलाई जनताले अनुमोदन पनि गरेकै हो । जनताले हामीलाई साथ दिएको पनि हो । अवसर सदुपयोग नगरेको हामीले नै हो ।’
तर, आज देश माओवादीकै एजेण्डामा चलेको आचार्यको दाबी छ । उनले सुनाए–‘संविधान सभाबाट संविधान बनाउन र त्यो संविधान गणतन्त्रात्मक हुन्छ भन्ने माओवादीको एजेण्डा हो । त्यसका निम्ति धेरैको रगत बगेको छ । र, यो एकात्मक राज्य प्रणालीलाई बदल्नुपर्छ भन्ने माओवादीकै एजेण्डा थियो । यो राज्य प्रणाली, समानुपातिक समावेशीको व्यवस्था भयो ।
‘देश माओवादीकै योजनामा चल्ने तर त्यसको नेतृत्व भने माओवादीले नगरेको मलाई बेला बेला लाग्छ’ सांसद महतले थपे, ‘त्यसले गर्दा जनयुद्धमा हामीले देखेका सपनाहरु पुरा नभएका हुन् । अहिले माओवादी पार्टी कसरी चलिरहेको छ हामी सबैलाई थाहा छ ।’
राज्यको पुर्नसंरचना भयो । अधिकारहरुको बाँडफाँड भयो । मूल रुपमा देश माओवादी एजेण्डालाई कानुन बनाएर चलेको छ । तर, माओवादीले नै त्यसको अगुवाइ गर्न पाएन । जहाँ अगुवाइ गर्यो । त्यसको सही ढंगबाट सदुपयोग भएन ।’
पछिल्लो समय माओवादी नेताहरुको सफर राजा/महाराज जस्तै हुने गरेको र जनताको सरकार अहिले पनि नआएको माओवादी नेता तथा जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । महतको मन अलिक अमिलो भएको छ । ‘यो सबैलाई थाहा छ । तर, पछिल्लो समय माओवादी नेताहरूलाई जनताको मागभन्दा सत्ताको कुर्सी प्यारो लागेकै हो जनयुद्धका मुद्दा अर्कै थिए । यहाँसम्म पुग्दा अर्कै भयो,’ महत निराश सुनिए ।
सांसद् महतले न्युजकारोवारसँग भन्दै थिए–‘हामीले जनयुद्ध त्यतिकै गरेका थिएनौँ । त्यसरी नै हतियार परिचालन गरियो । त्यसरी माओवादीका आफ्नै सेना परिचालन भए । यहाँसम्म आउँदा माओवादीले एक हदसम्म बाटो भुलेकै हो । व्यवस्था माओवादीले बदलेको हो । तर, अहिले सरकार भने दलाल,माफिया र नाफाखोरहरुले चलाइरहेका छन् । जनताको अवस्था जस्ताको त्यस्तै छ ।’
‘देश माओवादीकै योजनामा चल्ने तर त्यसको नेतृत्व भने माओवादीले नगरेको मलाई बेला बेला लाग्छ’ सांसद् महतले थपे, ‘त्यसले गर्दा जनयुद्धमा हामीले देखेका सपनाहरु पूरा नभएका हुन् । अहिले माओवादी पार्टी कसरी चलिरहेको छ हामी सबैलाई थाहा छ ।’ माओवादीका नेताले बाटो बिराएकाले सही बाटोमा आउनुपर्ने उनको दाबी छ–‘पद र प्रतिष्ठामा आफू मात्रै रहिरहने मानसिकता छ । त्यो त्याग्नुपर्छ ।’
जनताले २०६४ मा जसरी विश्वास गरेका थिए त्यो विश्वासलाई माओवादीले जोगाउन नसकेको सांसद् महतले बताए । ‘पटक–पटक पदमा जान खोज्नेहरू पनि छन् त्यसले गर्दा आजको दिन देखिएको हो । जसरी हामीले राजनीतिक अवस्थामा परिवर्तन ल्याएका थियौँ त्यसरी जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकेनौं’ मलिन भावमा महत भन्दै थिए–‘अहिले आममान्छेले बुझ्न थालिसकेका छन्, माओवादी नेताहरू युद्धको ब्याज खाएर बसेका छन्,संघीयता प्राप्तपछि देशको अवस्था थोरै भिन्न त होला भन्ने थियो तर पनि, बदलिएनन् । उनीहरुको सोच बदलिएन ।’

सरकार सञ्चालन गरिरहेका नेताहरुले यो एउटा संस्कार नै बसालेको सांसद् महतले बताए – ‘म नै २० वर्ष माननीय हुनैपर्ने ! म नै मन्त्री, प्रधानमन्त्री हुनैपर्ने, अध्यक्ष भइराख्नुपर्ने ? जुन सस्कार नै बसेको छ । त्यसकारण, पनि जनताले नेतालाई राजा/महाराजा भन्न थालेका हुन् ।’ नेताहरुले पालेको त्यो संस्कारलाई त्यागेनन् भने जनताले यिनलाई नयाँ राजा/महाराजा नै भन्ने सांसद् महतको भनाइ छ । गणतन्त्र प्राप्तिका लागि जुन पार्टीले संघर्ष गर्यो त्यसैका नेताको सफर, लवाइखवाइ राजा/महाराजको शासन जस्तै निश्चित व्यक्तिवादी, परिवारवादी र अवसरवादी भएपछि गणतन्त्र नै धरमराउने माओवादी नेता तथा प्रतिनिधिसभा सदस्य महतको चिन्ता छ ।
के माओवादी नेतृत्वलाई पनि यस्तै चिन्ता होला ? निकै बर्षको रस्साकस्सीपछि माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ जनाको जम्बो टोली गठन गरेको छ । के यो घोषणापत्रमार्फत् माओवादीले यसपटक विगतमा आफूले गरेका गल्ती र नयाँ महाराजको नयाँ संस्करणमा रुपान्तरित हुने लागेको बानी छाड्ला ? आश गर्ने तर भर नपर्ने त अब आमजनताको पनि बानी भइसक्यो ।
प्रकाशित समय : १९:०२ बजे




















