global ime bank Long Banner Ad

गृहपृष्ठ दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार

दोर्दी करिडोरको बिजुली जोड्ने वैकल्पिक प्रसारण लाइन तयार

लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि वैकल्पिक व्यवस्था सहितको प्रसारण लाइन तयार भएको छ ।

सो करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको बिजुली उदीपुर हुँदै मध्यमर्स्याङदीकाे स्वीच यार्ड सिउँडीबारमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । नेपाल विद्युत प्राधिकरणले कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत बिजुली जोड्न सकिने गरी नयाँ व्यवस्था गरिएको मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख चिरन्तनविक्रम राणाले जानकारी दिए ।

‘हामीले सबै परीक्षणको काम सम्पन्न गरिसकेका छौं, प्रवर्द्धकले चाहेको बेलामा नै अब बिजुली जोड्न सक्छन्,’ आयोजना प्रमुख राणाले भने, ‘कार्यकारी निर्देशकले पनि शिघ्र काम सम्पन्न गर्न दिनुभएको छ, हामीले सबै काम सम्पन्न गरेर तयारी अवस्थामा बसेका छौं ।’

वन क्षेत्रको रुख कटानमा देखिएको समस्या तथा अन्य स्थानीयवासीको मागका कारण लामो समयदेखि मार्कीचोक हुँदै लमजुङ खण्डमा प्रसारण लाइन निर्माणको कामले गति लिन नसकेपछि प्राधिकरणले आफ्नो प्रतिवद्धताअनुसार प्रसारण लाइन तयार पारेको हो ।

हाल तयारी हालतमा रहेको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिने छ । सो प्रसारण लाइनको क्षमता २२० केभी भए पनि तत्काल कम क्षमता चार्ज गरेर प्रवर्द्धकको बिजुली प्रणालीमा जोडिने आयोजना प्रमुख राणाको भनाइ छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलामा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत खुदी सबस्टेसनमा जोडिने छ ।

मर्स्याङदी र त्यसका सहायक नदीमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

उनका अनुसार हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाले बिजुली जोड्छौं भनेकै दिन जोड्न सकिने भएको छ । यस्तै लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको आयोजना निर्माणाधीन छ । त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको १२.१ दोर्दी–१ पनि तत्कालै जोड्न सकिनेछ ।

चेपे खोलाका निर्माणाधिन सात मेगावाटको अर्को एक आयोजनाको समेत बिजुली सोही प्रसारण लाइनमा जोडिँदा तत्कालै ७० मेगावाट बराबरको बिजुली केन्द्रीय प्रणालीमा थप हुनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब एक सय १३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ ।

दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रूपैयाँ बराबर छ ।

लमजुङमा २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत आयोजना निर्माणाधीन छन् । यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ पनि सोही प्रसारण लाइनमार्फत नै प्रवाह हुनेछ । सो करिडोरका सबै आयोजना निर्माण सम्पन्न भएपश्चात् एक सय २५ मेगावाट बिजुली उत्पादन हुनेछ । त्यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरको सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजनामा कूल आठ अर्ब ८० करोड लगानी छ । सो आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको पनि २७ करोड लगानी रहेको छ ।

निर्माण सम्पन्न भएका आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोड्न नपाएको भन्दै गुनासो आएपछि प्राधिकरणले मर्स्याङदी करिडोर प्रसारण लाइनको प्रगतिका बारेमा पटक-पटक चासो राख्दै स्थलगत अनुमगनसमेत गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशकलगायतको टोलीले सो प्रसारण लाइन र सवस्टेशनको स्थलगत निरीक्षण गरी वैकल्पिक व्यवस्थामार्फत नै भए पनि बिजुली जोड्ने प्रतिवद्धता जनाएको थियो । प्राधिकरणको खुदी सवस्टेसनको निर्माणको काम अन्तिम चरणमा पुग्न लागेको छ । धारापानी सवस्टेसनको काम भइरहेको छ । भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा आशातित सफलता हासिल हुन सकेको थिएन ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । खुदी र धारापानी सबस्टेसनमा क्रमश: २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहने छन् ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृति लिन लामो समय लागेको थियो । सो प्रसारण लाइनअन्तर्गत बाँकी रहेका अन्य काम पनि आगामी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि सो आयोजनाको स्थलतगत निरीक्षण गरी काम सम्पन्न गर्न यसअघि निर्देशन दिएकी थिइन् ।

प्रकाशित समय : १९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु