गृहपृष्ठ ‘खेमराज गुरुङ स्रष्टा सम्मान’द्वारा दीप श्रेष्ठ सम्मानित
‘खेमराज गुरुङ स्रष्टा सम्मान’द्वारा दीप श्रेष्ठ सम्मानित
गायक खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको ‘खेमराज गुरुङ ट्रष्ट’ले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । यसैगरी ट्रष्टकाे ‘प्रतिभा पुरस्कार’द्वारा गायक भविन ढुंगाना पुरस्कृत भएका छन् । दुवै श्रष्टालाई संखुवासभाकाे सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा सम्मान एवं पुरस्कृत गरिएकाे हाे ।
२०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा संगीतको क्षेत्रमा लागेका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।
लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच (जज)समेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान-पत्र प्रदान गरेको हो । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नशम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६)लाई प्रदान गरिएको थियो ।
नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ठ चारमा पर्न सफल ढुंगाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । प्रतिभा पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।
यसअघि याे पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५) र सुसन लामा (२०७६)लाई प्रदान गरिएको थियो । २०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड-१९ महामारीका कारण स्थगित गरिएको थियो । खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको ट्रष्टका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
नेपाली संगीत क्षेत्रकै सर्वाधिक लाेकप्रियमध्येकाे गीत ‘वारि जमुना, पारि जमुना’लगायत दर्जनौं गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।
प्रकाशित समय : १२:३८ बजे



















