गृहपृष्ठ रावलको प्रश्न– बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धाराअन्तर्गतको हो ?
रावलको प्रश्न– बालुवाटारको पाँच दलीय संयन्त्र संविधानको कुन धाराअन्तर्गतको हो ?

नेकपा (एमाले)का सांसद् डा.भीम रावलले पाँच दलीय गठबन्धनले देशमा राजाको जस्तै शासन चलाउन खोजेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाइदिएको नागरिकता विधेयकबारे आज संसद् बैठकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले भारत, बंगलादेश र भुटानसहितका बिहे गरेर जाने विदेशीले नागरिकताबाहेक अरू अधिकार मात्रै पाउने व्यवस्था रहेको बताए । उनले भने, ‘नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रपतिले पुनर्विचार गर्न पठाउँदा संसदीय समितिमा छलफल नगर्ने यही हो त लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको प्रतिवद्धता ? पाँच वर्षदेखि सात वर्षसम्म अवधि तोक्ने कुरा संविधान बनाउँदा नै उठेको थियो । बहुमत छँदै छ पछि राख्ने भनिएको थियो । त्यो प्रतिवद्धताबाट पछि हटेर अहिले अर्को निर्णय गर्ने ?’
‘बालुवाटारमा बस्ने पाँच दलीय संयन्त्र कुन संविधान र धाराअन्तर्गतको हो ?’ उनले प्रश्न गरे, ‘त्यसले त्यहाँबाट जे फैसला गर्यो त्यही मानिदिनुपर्ने नेपाली जनताले ? त्यो संयन्त्र संविधानभन्दा माथि हुन्छ ?’
उनले संविधान र कानुनअनुसार अघि बढ्ने प्रतिवद्धता गरे पनि अहिले पाँच दलले राजतन्त्रको जस्तै अभ्यास गरिरहेको बताए ।
‘पाँच दलको मनपरी चलिरहने हो भने किन राजतन्त्र समाप्त गरेको त ?,’ उनले भने, ‘त्यसो भए पाँच दलीय अमिर घोषणा गरौँ । खाडीसहितका मुलुकमा अमिर प्रथा छ, नेपालमा पनि अमिर प्रणाली गरे हुँदैन र ?’
प्रकाशित समय : १४:५१ बजे