गृहपृष्ठ आयात नियन्त्रणले अर्थमा सुधार
आयात नियन्त्रणले अर्थमा सुधार
अनियन्त्रित आयातकै कारण देशको अर्थतन्त्र थप धरासायी बनेको भन्दै सरकारले गत पुसबाट नै आयात नियन्त्रणका लागि कदमहरु चालेको थियो । विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि लिएकाे सरकारी नीतिले वितेको तीन महिनामा अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिएको छ । गत आर्थिक वर्षको पुसमा नै आयात नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले केही वस्तुको आयात गर्न प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो । फागुनमा प्रतितपत्र खोल्न नगद मार्जिन राख्नुपर्ने बस्तु थप गर्यो ।
त्यतिले पनि नपुगेपछि १ चैतमा राष्ट्र बैंकले मौखिन निर्देशनमार्फत विलासी वस्तुको एलसी खोल्न बैंकहरुलाई रोक लगायो । १३ वैशाखमा आएर त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० विलासी वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । फलतः आयात नियन्त्रण गर्न सरकारले चालेको कदम र आर्थिक वर्षको अन्त्यतिर आउँदा रेमिट्यान्ससमा पनि सुधार हुँदा बाह्य क्षेत्रको आर्थिक सुचकमा अन्तिम तीन महिनामा सुधार देखिएको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहको विदेशी विनिमय सञ्चिति चैतमा ११ खर्ब ११ अर्ब ६८ करोडसम्म झरेको थियो । तर, वैशाखदेखि क्रमिक रुपमा बढ्दै गएर असार मसान्तमा आउँदा बढेर १२ खर्ब १६ अर्ब पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा चैतसम्म ०.४ प्रतिशत कम रहेको रेमिट्यान्स असारमा आउँदा ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब नाघेको छ ।
शोधनान्तर घाटा २०७८ चैतमा नै २ खर्ब ६८ अर्ब पुगेकोमा असारमा घटेर २ खर्ब ५५ अर्ब झरेको छ । यसले वाह्य क्षेत्रमा केही सुधारको संकेत दिएको छ ।
आव २०७७/७८ मा ८० अर्ब १२ करोडले बचतमा रहेको खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति गत आवमा २ खर्ब ५७ अर्ब ६२ करोडले घाटामा पुगेको छ ।
२०७९ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १३ खर्ब ३० अर्ब ६५ करोड तथा दायित्व १५ खर्ब ८८ अर्ब २७ करोड रहेको राष्ट्र बैैंकले जनाएको छ । जसले खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ५७ अर्ब ६२ करोडले घाटामा पुगेको जनाएको छ ।
गत आवमा २०७८/७९ मूल्यवृद्धिदर ६.५ प्रतिशतमा सिमित राख्ने बताएको थियो । तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर भन्दा करीव दोब्बर हो ।
प्रकाशित समय : १०:४० बजे



















