बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिए
वि.सं.२०७९ साउन ३१ मंगलवार ०९:४९
shares
मृतक महिला
रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।
बुटवलको तिनाउ पुलनजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नम्बर १३४ मा उनीहरु आइतबार रातिसँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक-डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान चलिरहेको घटनामा दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

























