गृहपृष्ठ पर्यटन मन्त्रालयको खर्च ५३ प्रतिशतमात्रै
पर्यटन मन्त्रालयको खर्च ५३ प्रतिशतमात्रै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा २६ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ५३ प्रतिशत अर्थात् १३ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सोमबार मन्त्रालयका सहसचिव टोकराज पाण्डेले प्रस्तुत गरेको तथ्यांकअनुसार पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजित २ अर्ब २४ करोड रुपैयाँमध्ये १ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ ।
वित्तीयतर्फ विनियोजित २० अर्ब रुपैयाँमध्ये ९ अर्ब मात्रै खर्च गर्न सकेको छ । चालु खर्चतर्फ भने ३ अर्ब ३४ करोड रुपैयाँमध्ये ३ अर्ब रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष ०७८/७९ मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ करोड रुपैयाँ मात्रै आम्दानी गरेको मन्त्रालयले जनाएको छ । सरकारले उक्त वर्ष विदेशी पर्यटकबाट १ अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जनको लक्ष्य राखेको थियो ।
०७७/७८ को दाँजोमा भर्खरै सकिएको आर्थिक वर्षमा पर्यटकबाट आर्जन भएको विदेशी मुद्रा २० करोड रुपैयाँले बढेको हो । अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान १.६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष डेढ लाख हाराहारी विदेशी पर्यटक नेपाल आएका थिए ।
गत वर्ष देशभर हवाई यात्रा गर्ने ३५ लाख र अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या १४ लाख पुगेको छ ।
प्रकाशित समय : ०८:५१ बजे



















