गृहपृष्ठ नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु
नवलपुरमा पोखरीमा डुबेर २ बालबालिकाको मृत्यु
नवलपरासी (बर्दघाट,सुस्तापूर्व)को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले जानकारी दिए ।
कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए ।
पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएका सिंजालीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए । शनिबार नै कावासोती–१४ हेगौलीमा पोखरीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
हेगौलीका पुरण चौधरीकी छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडि आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेकी थिइन् ।
प्रकाशित समय : ११:५२ बजे


















