गृहपृष्ठ काठमाडौंको फोहोर बिहीबारबाट उठाइने
काठमाडौंको फोहोर बिहीबारबाट उठाइने
काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
१२ गते बिहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन महानगरले अनुरोध गरेको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउँदा सवारी आवतजावत कठिनाइ भएको व्यहोरा उल्लेख गर्दै साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।
विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो । छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।
प्रमुख शाहको अध्यक्षतामा गठित समितिको सदस्यहरुमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु प्रेम थापा, भुवन लामा, बालकृष्ण महर्जन, ईश्वरमान डंगोल, कुश ढकाल, नवराज पराजुली छन् ।
प्रकाशित समय : १०:५४ बजे