गृहपृष्ठ एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको हो ।
यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांक अलग–अलग गरिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागु हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ ।
यसअघि, सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्तांकलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो ।
नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धांकपत्र अर्थात् मार्कसिट पुग्ने छ ।
एसईई नतिजालाई परीक्षार्थीको प्राप्तांकअनुसार ७ वटा ग्रेड निर्धारण गरिने छ ।
परीक्षार्थीको प्राप्तांकअनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए प्लस’ ग्रेड मानिने छ, जसलाई जीपीए ४ दिइने छ । ८०–९० अंकसम्मलाई ‘ए’, जसलाई जीपीए ३.६ दिइने छ । यस्तै, ७०–८० अंकसम्मलाई ‘बी प्लस’ जसलाई ३.२ जीपीए दिइने छ । ६०–७० अंकसम्मलाई ‘बी’ ग्रेड मानिने छ, जसलाई जीपीए २.८ दिइने छ ।
५०–६० अंकसम्मलाई ‘सी’ ग्रेड दिइने छ र जीपीए २.४ मानिने छ । ४०–५० अंकसम्मलाई ‘डी प्लस’ ग्रेड मानिने छ र जीपीए २ दिइने छ । त्यस्तै, ३५–४० सम्मकालाई ‘डी’ ग्रेड मानिने छ भने जीपीए १.६ दिइने छ । ३५ अंकभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य मानिने छ ।
नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा था पाउन सकिन्छ । त्यस्तै, अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
प्रकाशित समय : २०:४८ बजे