गृहपृष्ठ सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो
सल्लाघारी घटना : मृतक तीनैजनाको पहिचान खुल्यो
भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोंगा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ ।
दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका-२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका-४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर-१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चानपा-४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडाैं-१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गापा-७ घर भई हाल सूर्यविनायक नपा-८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नपा-७ का १८ वर्षीय सिम्रन लागेजु छन् । उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।
त्यसैगरी उदयपुरको लिचुंगु गापा-१ भई हाल काठमाडाैंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गापा-७ घर भई हाल काठमाडाैंको शंखमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङबरक गापा-३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङबरक गापा-३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नपा-२ घर भई हाल काठमाडाैंको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर-८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवालसमेत घाइते भएका छन् । उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उपचारको व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका छन् । भक्तपुरका सांसद प्रेस सुवालले संसदमा बोल्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गरे ।
प्रकाशित समय : ०८:२३ बजे


















