गृहपृष्ठ कारागार व्यवस्थापन विधेयक पारित
कारागार व्यवस्थापन विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गरे । सभाको पहिलो बैठकमा गणपुरक संख्या नपुगेपछि १५ मिनेट स्थगित भइ सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो ।
यसअघि विधेयकमाथिको छलफलमा सांसद्हरुले भाग लिएका थिए । उनीहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मंसिर २९ मा दर्ता गराएको थियो ।
यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गरेका थिए ।
प्रकाशित समय : १८:२३ बजे



















