गृहपृष्ठ नेपाल-चीन संयुक्त सीमा अनुगमन गर्ने सहमति

नेपाल-चीन संयुक्त सीमा अनुगमन गर्ने सहमति

नेपाल-चीन संयुक्त सीमा अनुगमन गर्ने सहमति

नेपाल-चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ ।

सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो ।

लामो समयदेखि नेपाल-चीनबीच संयुक्त सीमा निरीक्षण नभएकाले आपसी परामर्शद्वारा उक्त कार्य अघि बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्त रूपमा प्रतिवेदन तयार हुने उनले जनकारी दिइन् । ‘अनुगमनका लागि एउटा मोडालिटी तयार गर्न बाँकी नै रहेको र त्यसपछि मात्रै कहाँ जाने, कसरी जाने, कहाँबाट अनुगमन गर्ने, भनेर एकीकृत फ्रेमवर्क तयार भएर जानेछ,’ लम्सालले भनिन् ।

नेपाल र चीनबीच सन् १९६३ मा अन्तिम रूप दिइएको सम्झौतामा हरेक १०-१० वर्षमा सीमा अनुगमन गरी अध्यावधिक गर्ने उल्लेख छ तर नियमित अनुगमन हुन सकेको छैन । परराष्ट्र मन्त्रालयमा बुधबार भएको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता लम्सालले कोभिड-१९ संक्रमण महामारीसम्बन्धी आवश्यक स्वास्थ्य मापदण्ड अपनाइ नेपाल-चीन सीमा केरुङ-रसुवागढी नाकालाई व्यापारका लागि दुईतर्फी खुला गर्ने र हिल्सा नाका एकतर्फी रूपमा खुला गर्ने विषयमा पनि सहमति भएको उनले जानकारी दिइन् ।

यस्तै नेपाल र चीनको तिब्बतस्थित स्थापित व्यापार सहजीकरण समितिको १०औँ बैठक जुलाई १८ मा सम्पन्न भएको र उक्त बैठकमा सीमा नाकामा भौतिक पूर्वाधार निर्माण, दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रक्रियामा सरलीकरण र चिनियाँ सहयोगमा निर्माणाधीन रसुवाको टिमुरे सुक्खा बन्दरगाह यथासक्य छिटो सम्पन्न गर्ने विषममा पनि छलफल भएको उनले जानकारी दिइन् ।

हालै चीनको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्जाओले असार (२६-२९) सम्म नेपालको भ्रमण गरेको र भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत राजनीतिक दलका नेतृत्वसँग भेटघाट गरेको जानकारी दिइन् ।

श्रीलंकामा पछिल्लो समयमा घटिरहेको घटनाक्रमप्रति दुःख व्यक्त गर्दै लम्सालले अन्य मित्रराष्ट्रका रूपमा रहेको मुलुक अफ्ठेरोस्थितिमा रहेका बेला त्यसप्रति नेपाल संवेदनशील रहेको र त्यसबाट सिकेर सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिइन् ।

पत्रकारको एक जिज्ञासामा उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण राजनीतिक दलको निमन्त्रणमा भएको र भेटघाट आफ्नै किसिमले तय भएको जानकारी दिँदै आवश्यकता आधारमा दूतावासमार्फत आवश्यक सहजीकरणको गरिएको जानकारी दिइन् ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु