गृहपृष्ठ ‘राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने किसिमको विकास निर्माण आवश्यक’
‘राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने किसिमको विकास निर्माण आवश्यक’

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताएका छन् । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नु नै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए । नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पना अनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गरे । उनले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।
उनले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गरे । प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पुर्याएको योगदानको प्रशंसा गरे । इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको उनकाे भनाइ थियाे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपाललाई विकासशील राष्ट्रको स्तरमा पुर्याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको र यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको बताए ।
उनले दिवसका सन्दर्भमा दिगो पूर्वाधार निर्माण कार्यमा गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जानकारी दिँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र उनीहरुका संस्थाको हुने स्मरण गराए ।
प्रकाशित समय : १४:४४ बजे