global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई आईजीपीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयमा बिहिबार बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानुनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे । कानुनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए । ‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, संगठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ,’ उनले भने ।

प्रहरी जनतामा घुलमिल हुने संगठगन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उनले जोड दिए । प्रहरी संगठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानुनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए । उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गरे । उनले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा आईजीपीसामु रहेको बताए । सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाव र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्यांकनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याए ।

नवनियुक्त आईजीपी थापालाई नियुक्तिपत्र प्रदान गर्दै गृहसचिव न्याैपाने ।

‘बर्दीमा दाग लगाए निर्मम कारवाही ’

उक्त समारोहमा नवनियुक्त आईजीपी क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले कानुनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाए । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले धारणा व्यक्त गरे। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । उनले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्मम रुपमा कारवाही गरिन्छ ।’

उनले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले संक्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत उनले प्रतिबद्धता जनाए ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु