गृहपृष्ठ कोरोनाबाट नेपालमा थप ३ को मृत्यु, मृतक संख्या ४८ पुग्यो
कोरोनाबाट नेपालमा थप ३ को मृत्यु, मृतक संख्या ४८ पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड- १९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका बिरामी थिए ।
यस्तै, धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ। साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसीयुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । सोमबार नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ। यस्तै धनुषा र महोत्तरीमा १०/१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्याानमा २ जनामा संक्रमण देखिएको छ। यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एकएक जनामा संक्रमण देखिएको छ ।
सोमबार ६ सय २६ जना डिस्चार्ज भएका छन् । आजसम्म १३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् ।
प्रकाशित समय : २३:११ बजे



















