गृहपृष्ठ पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा अक्षयकोष स्थापना गरिने
पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा अक्षयकोष स्थापना गरिने
संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले डिल स्मृति पत्रकारिता पुरस्कारको लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । समितिको पहिलो साधारण सभाको निर्णयअनुसार संस्थाका संस्थापक सचिव स्वर्गीय डिलप्रसाद शर्माको नाममा दुईलाख रुपैयाँको अक्षय कोष स्थापना हुने भएको हो ।
‘डिल स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्न अक्षय कोष स्थापना गर्ने र सो कोषबाट आएको ब्याजबाट संसदीय रिपोर्टिङ गर्ने दुईजना पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । अक्षयकोष सञ्चालन तथा व्यवस्थापनका लागि उपाध्यक्ष देवबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन भएको उनले जानकारी दिए ।
पत्रकार शर्माको बोनम्यारो क्यान्सरबाट गत कात्तिकमा २३ वर्षको उमेरमा निधन भएको थियो । दैलेख घर भएका उनी सुर्खेतमा रहेर पत्रकारितामा सक्रिय थिए ।

साधारण सभाले समितिलाई पनि पूर्णता दिएको छ । अध्यक्षमा शेरबहादुर थापाले निरन्तरता पाएका छन् । उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिता कुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यहरुमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध भएका छन् ।
प्रकाशित समय : २२:५४ बजे



















