गृहपृष्ठ उपत्यका प्रवेश गर्ने नाकाबाट ३,४७३ स्वाब परीक्षण, २४ जनामा कोरोना पुष्टि
उपत्यका प्रवेश गर्ने नाकाबाट ३,४७३ स्वाब परीक्षण, २४ जनामा कोरोना पुष्टि
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । केही दिनयता संकलन गरिएको ३ हजार ४ सय ७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार साँगा, नागढुंगा, फर्पिङ नाकाबाट ती स्वाब संकलन गरिएका हुन् । विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइसाथ स्वाब संकलन गरिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए ।
नागढुंगामा ४ हजार ७१०, फर्पिङमा १ हजार २८२ र साँगामा २ हजार ४०९ जनाको स्वाब संकलन गरिएको थियो । नागढुंगामा संकलितमध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जना, फर्पिङमा संकलित ७४१ को परीक्षण गर्दा १० जना र साँगामा संकलित ४३० जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार मात्रै काठमाडौं उपत्यकाका तीन जिल्लामा ४५ जना थप संक्रमित भेटिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जना रहेका छन् ।
प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका १३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडौँका ३ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित समय : ०१:५० बजे



















