global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीले कैलालीमा २५ सय घरपरिवार विस्थापित

बाढीले कैलालीमा २५ सय घरपरिवार विस्थापित

बाढीले कैलालीमा २५ सय घरपरिवार विस्थापित

लगातारको वर्षासँगै आएको बाढीले कैलालीमा सयौँ घर डुवानमा परेका छन् । बाढीले घर डुवानमा परेपछि दुई हजार पाँच सय परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वर्षा नरोकिएकाले बिहीबार पनि थप घरहरु डुवानमा परेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निरन्तरको वर्षाले बाढीको सतह नघट्दा बुधबार विस्थापित भएका परिवार घर फर्कन सकेका छैनन् । हिजो बेलुका बाढीको सतह घटेपछि घर फर्केका कतिपय परिवार बाढी बढ्न थालेपछि बिहीबार पुनः घर छोडेर सुरक्षित ठाउँमा गएको जोशीले बताए ।

बाढीबाट सबैभन्दा बढी प्रभावित भएको भजनी नगरपालिकाका विस्थापित परिवार हुलाकी राजमार्गमा बसिरहेका छन् । भजनीका नगर प्रमुख शेरबहादुर चौधरीले वर्षा निरन्तर भइरहेकाले बाढीको सतह नघटेको बताए । ‘एक घरबाट अर्को घरमा जानसक्ने अवस्था छैन । कतिपय मान्छेहरु हिजोदेखि घरभित्रै छन्,’ उनले भने, ‘बाढीले हिजो धेरै ठाउँ जानै सकिएन, आज पनि सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ ।’

उद्धार गरेर सुरक्षित ठाउँमा राखिएकालाई खानाको व्यवस्था गरिएको उनले बताए । मंगलबार रातिबाट सुरु भएको वर्षा बुधबार बेलुका रोकिएको थियो । हिजो रातिबाट पुनः निरन्तर वर्षा भएपछि डुवान बढेको हो । भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् ।

बाढीको सतह कायमै रहेकाले हिजो विस्थापित भएका परिवार घर फर्कन नसकेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । ‘डुवान उस्तै छ । आज पनि उद्धार कार्य भइरहेको छ,’ बिष्टले भने, ‘हिजोबाट दर्जनौँ गाउँ डुवानमा परेका छन् ।’

विस्थापितको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ । नेपाली सेनाको १७० जना र नेपाल प्रहरीको १५० जनाको टोली खटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर तीन सयभन्दा बढी सशस्त्र प्रहरी उद्धारमा सक्रिय भएको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाल तिमल्सिनाले बताए ।

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु