गृहपृष्ठ पिन्थलीमा ‘एक घर, एक धारा’ अभियान
पिन्थलीमा ‘एक घर, एक धारा’ अभियान
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान सुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।
वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माण कार्य सुरु भएपछि अब यहाँका बासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन् । सम्झौताअनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका ९ का वडाध्यक्ष जनम तामाङले बताए । उनका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
‘पुसभित्र जसरी पनि स्थानीय बासिन्दाको घरघरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्नेछौँ,’ तामाङले भने, ‘तोकिएको समयमा नै काम सकाउने गरी निर्माण कार्य अगाडि बढिरहेको छ ।’ तीन महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
यहाँका बासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आएका छन् । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताए । ‘अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन्,’ उनले भने, “पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।’
रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्याङ्कीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका बासिन्दा लाभाविन्त हुनेछन् । एक करोड २३ लाख ८९ हजार ६०४ भ्याटबाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ । आयोजना जेभी कन्स्ट्रक्शनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम सुरु गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।
जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्याङ्कीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीयवासी उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीयवासी खुशी छन् । (रासस)
प्रकाशित समय : १६:५७ बजे




















