गृहपृष्ठ अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ
अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भूमिका महत्वपूर्ण : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरूसँग मन्त्रालयले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कुटनीतिज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठको भनाइ छ ।
उनले सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गरे । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरूले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तरराष्ट्रिय स्तरमा देशको छवी निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दूतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधैँ तयार रहेको बताए ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकोले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका सुशिल लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे,अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दानबहादुर तामाङलगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रर्वद्धनका लागि देशअनुसार फरक–फरक प्रर्वधनात्मक सामग्री तयार गर्नु पर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नु पर्नेमा जोड दिए ।
उनीहरूले नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटी अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरु प्रभावकारी बनाउन दूतावास, मन्त्रालय, बोर्डलगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिए । यस्तै, नवनियुक्त राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरे ।
यस्तै, बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डका पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा राजदूतावासहरुले पनि सोही अनुरुपको समन्वय र सहकार्य गर्नु पर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड–१९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे प्रकाश पार्दै बोर्डले नेपालको प्रर्वद्धनमा दूतावासहरूसँग सहयोगको अपेक्षा गरेको बताए ।
नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप पौडेलले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्ड अनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने हुने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताए ।
प्रकाशित समय : २३:५२ बजे