गृहपृष्ठ ‘प्रचण्डपुत्र’काे शालिक ठडिएपछि आन्दोलनप्रति ठडिएको प्रश्न
‘प्रचण्डपुत्र’काे शालिक ठडिएपछि आन्दोलनप्रति ठडिएको प्रश्न
गत शुक्रबार स्वर्गीय छोरा प्रकाशको शालिक अनावरण गर्दा पुष्प कमल दाहाल 'प्रचण्ड' केही भावुक देखिए । नुवाकोटको ककनीमा छोराको शालिक बनाएर वा बनाउन लगाएर गरिएको अनावरणपछि सबै सफल सगरमाथा आरोहीलाई सम्मान मिलेको दाबी समेत गरे । उनले भने, ‘मलाई कता-कता गलत सन्देश जाला कि भन्ने चिन्ता छ । तर यसलाई परिवारसँग जोडेरभन्दा पनि एउटा आरोहीको सफलतासँग जोडेर बुझ्नु पर्छ । यसले सबै सफल सगरमाथा आरोहीहरुलाई सम्मान मिलेको छ ।’
प्रचण्डका कान्छा सन्तान हुन् साकार दाहाल 'प्रकाश' । २०६६ मा सुरु भएको लुम्बिनी-सगरमाथा शान्ति अभियानअन्तर्गत २०६९ जेठ १३ गते बिना मगरसहित १२ जनाको टोलीले सगरमाथाकाे सफल आरोहण गरेको थियो । २०७४ मंसिर ३ गते हृदयघातका कारण प्रकाशको निधन भयो । उनको आरोहण योगदान स्वरुपले नेपाल पर्वतारोहण संघले ककनीमा शालिक बनाएर प्रचण्डलाई खुशी बनाएको हो ।
अनावरणलगत्तै गलत सन्देश जान्छ कि भन्ने आँकलन गरेका प्रचण्ड काठमाडौं फर्किन नपाउँदै आलोचना सुरु भयो । उनका आफ्नै पार्टीका नेताहरुले समेत प्रकाशको शालिकमाथि चित्त बुझाएका छैनन् । शालिक अनावरणपछि नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओ र माओका छोराको प्रसंग झिक्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सारमा उनको आलोचनाको अर्थ थियो- प्रकाश दाहालको शालिक बनाउनु र प्रचण्डले अनावरण गर्नु दुवै अनुचित हो ।
उनले माओ र माओको जेठा छोराका उदाहरण दिँदै यस्तो लेखेका छन्, ‘५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सघाउनका लागि कोरिया युद्धमा गएका थिए । त्यसमध्येका एक थिए माओका जेठा छोरा माओ आनइङ । कोरिया युद्ध (सन् १९५०-१९५३) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, त्यसमध्ये आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिएका थिए । छोरो शहीद भएको खबर माओले बुहारीलाई सुनाए । त्यसबेला उनको कोखमा सानो बच्चा (माओको नाति) थियो । माओकी बुहारीले अब जिउँदो पति देख्न नपाएपनि शवको अनुहार अन्तिम पटक हेर्ने इच्छा छ भनिन् । त्यसपछि माओेले बुहारीलाई भने, तिम्रो पतिमात्र होइन मारिएको, अरू ३० हजार चिनियाँ योद्धाहरु कोरियामा मारिएका छन् । ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन । त्यसकारणा हाम्रो छारोको मात्र शव ल्याउन मिल्दैन । हाम्रो छोराको मात्र शव ल्याउने र अरुको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा शहीद भए उनीहरुले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन् । पति वियोगमा परेकी माओकी बुहारीले कुरामा चित्त बुझाइन । किनकि उनी पनि एक योद्धा थिइन् । यसकारण माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरुले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन । दैनिक ६५ हजार चिनियाँ युवाहरु माओको शाओशान गाउँको घर (संग्रहालय) अवलोकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चौडा बनाउँछन् ।’
यसको सोझो अर्थ थियो, सगरमाथा आरोहीको शालिक बनाउने भए सबैको बनाउनुपर्छ । जनयुद्धमा ढालेकाहरुलाई शालिक बनाएर उठाउने भए १७ हजारकै उठाउनुपर्छ । कुनै नेता विशेष र तीनका सन्तानको शालिक ठड्याइनु उचित हुँदैन । यसले नेतृत्व र पार्टीप्रतिको विश्वास कम गर्छ । तर जनयुद्धको त्यो नेतृत्व आज आफ्नै परिवारवादमा फसेपछि मारिएका योद्धा र तिनका परिवारहरुकै अपमान भएको छ । किनकि पछिल्लो समय प्रचण्डलाई परिवार र व्यक्तिवादमा फसेको आरोप लाग्दै आएको छ । पूर्वमाओवादी नेता तथा हालका कृषक लोकेन्द्रबहादुर विष्ट भन्छन्, ‘माओजिम होइन्, खाओजिम लागू भयो यहाँ, माओस्ट होइन, खाओस्ट भए साथीहरु । माओवादी कहाँ छ र ? अहिले सबै खाओवादी भइसकेँ ।’ विष्टले जनयुद्धपछि माओवादीमा सैद्धान्तिक विचलन आएको भन्दै अहिलेको नेतृत्व नै त्यसको दोषी भएको बताए ।
प्रचण्ड पुत्रको शालिक ठडिएसँगै नेपाली समाजमा उनको योगदान के थियो ? जसका कारण शालिक नै ठड्याउनुपर्ने आवश्यकता आइपर्यो भन्ने प्रश्न उठेको छ । जबकि व्यक्तिगत आचारण र बहुविवाहका कारण प्रकाश सधैं विवादमा तानिए । पत्नीसँगको तीतोपन र सम्बन्धविच्छेदका कारण प्रकाशकाे आलोचना भइरह्यो । तथापि वितेर गएका व्यक्तिका विषयमा आलोचना गर्नु कदापि उचित हुँदैन । तर त्यही व्यक्तिका नाममा राजनीति गर्न खोज्नु र व्यक्तिवादी बन्न खोज्नु पनि ठिक होइन ।
पछिल्लो समय पृथ्वीनारायणका शालिकहरु ढालिँदै छ । पूर्वराजाहरुका शालिक देखिनसहने पात्रहरु यही समाजमा छन् । सेतु विकजस्ता शहीदका शालिक पनि ढलिरहेका छन् । अहिले पनि जनयुद्धका छर्रा बोकेर जीवन बाँचिरहेका योद्धाहरु सडकका चोक र गल्लीहरुमा भौतारिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको अवमूल्यन गर्दै सीमित घेरामा रहनु आन्दोलनप्रति नेतृत्वले गरेको अपमान हुन जान्छ ।
प्रकाशित समय : १९:२७ बजे

















