global ime bank Long Banner Ad

गृहपृष्ठ अर्थ मन्त्रालयको फुटेज डिलिट गरेको आरोप लगाउँदै ओलीले गरे छानबिनको माग

अर्थ मन्त्रालयको फुटेज डिलिट गरेको आरोप लगाउँदै ओलीले गरे छानबिनको माग

अर्थ मन्त्रालयको फुटेज डिलिट गरेको आरोप लगाउँदै ओलीले गरे छानबिनको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चार जना व्यापारिक घरानाको अनुहार झल्किने भन्दै प्रधानमन्त्रीसँग जबाफ मागेका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरु ?’ भनेर धम्क्याएको बताए । उनले को हुन् भनेर थर्काउने बेलासम्म भएको सिसिटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराए । 

‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरु भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिञ्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला,’ उनले भने । 

उनले मन्त्री स्वच्छ भए फुटेज देखाउनतर्फ लाग्ने बताउँदै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका हुन् । एमालेले बजेट निर्माणमा जिम्मेवारी बाहिरका मान्छेलाई लगेर करको दर हेरफेर गरेको आरोप लगाउँदै आएको छ । 

पूर्वप्रधानमन्त्री ओलीले यही प्रकरणको फुटेज अर्थ मन्त्रालयले डिलिट गरेको बताएका हुन् । यसको छानबिन गर्नुपर्ने उनको भनाइ छ । 

ओलीले भने, ‘यस विषयमा संसदीय समिति बनाऊ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’ 

मन्त्रीहरुले लापरबाही ढंगले काम गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा जवाफदेही बन्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन । संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।’

प्रकाशित समय : २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु