गृहपृष्ठ हैजाका बिरामी बढे, सतर्कता अपनाउन आग्रह
हैजाका बिरामी बढे, सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैजा देखिएको छ ।
झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।
पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ ।
काठमाडौं जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । कार्यालयका प्रमुख अधिकारीका अनुसार जार, बोतल, तथा ट्यांकर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले अनुगमन गर्ने भएको छ ।
यस्तै काठमाडौं महानगरपालिकाबाट हैजा नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रम गर्न विद्यालय र वडा कार्यालयलाई पत्राचार गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरीत पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमूना संकलन तथा परीक्षण गर्ने निर्णय भएको छ ।
प्रकाशित समय : २२:४६ बजे



















