गृहपृष्ठ नेपाल एसीसी टी–२० च्याम्पयनसिपबाट बाहिरियो
नेपाल एसीसी टी–२० च्याम्पयनसिपबाट बाहिरियो
वर्षा बाधक बनेपछि नेपाल ‘एसीसी महिला टी–२० च्याम्पियनसिप’बाट बाहिरिएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतियोगिताको नियमअनुसार युएई भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एसिया कपमा समेत छनोट भएको छ । यसअघि युएई समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।
टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । जितका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपाल वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।
खेलमा युएईले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । युएइका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् भने इशा रोहितले १५ तथा कप्तान छाया मुघलले १४ रन जोडिन् । त्यस्तै, खुसी शर्मा १२ रनमा आउट भइन् ।
उत्कृष्ट बलिङ गरेको नेपालका लागि अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् ।
समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको खेलमा भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङकङसँग पराजित भएको थियो ।
प्रकाशित समय : १९:०४ बजे



















